ताप्लेजुङ, असार ३१ । ताप्लेजुङको फुङ्लिङ नगर कार्यपालिकाका ८ जना सदस्य निर्वाचनबाट चुनिएका छन् । शनिवार भएको निर्वाचनबाट चुनिने सबै नेकपा एमालेका रहेका छन् ।
नगर कार्यपालिका नवनिर्वाचित ८ जना सदस्यलाइ मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले सपथ खुवाएका छन् । सपथ अघि उनले निर्वाचित सदस्यलाइ प्रमाण–पत्र बितरण गरेका थिए ।
यो निर्वाचन संगै ताप्लेजुङका ९ वटा स्थानीय तहका नगर तथा गाउँसभा र नगर कार्यपालिकाका तथा गाउँपालिकाले पूर्णता पाएको छ । शनिवार नगर कार्यपालिकामा ८ जना निर्वाचित भएसंगै २१ सदस्यीय फुङ्लिङ नगर कार्यपालिका पनि पूर्ण भएको छ ।
२१ सदस्यीय कार्यपालिकामा प्रमुख, उपप्रमुख र ११ वटा वडाका वडाध्यक्ष गरी १३ जना गएको असार १४ गतेको निर्वाचनबाट निर्वाचित भएका थिए । नगर कार्यपालिकामा प्रमुख, उपप्रमुख,११ वटा वडाका वडाध्यक्ष, प्रत्येक वडाबाट निर्वाचित महिला सदस्य भित्रबाट ५ जना र आम मतदाता भित्रका दलित वा अल्पसंख्यक मध्येबाट ३ जना गरी २१ जना रहने व्यवस्था छ ।
यो व्यवस्था अनुसार निर्वाचित महिला सदस्य भित्रबाट चन्द्रकला कार्की,कविता नेपाली (दमाइ),नर्वदादेवी भण्डारी, बर्षा इजम र सरस्वता भारती(पुरी) नगर कार्यपालिकामा थप निर्वाचित भएका छन् ।
निर्वाचित सबैले ३८–३८ मत ल्याए । निर्वाचनमा पराजित नेपाली काँग्रेसका जसोदा गुरुङ,टीकामाया नेपाली र प्रमिला गुरुङको समान १९–१९ मत रहयो । यसैगरी दलित वा अल्पसंख्यक भित्रबाट नगर कार्यपालिकामा दावा शेर्पा,कृष्ण खवास र नेताकुमारी परियार शिवा निर्वाचित भएका छन् ।
खवास र परियारको समान ३९–३९ तथा शेर्पाको ३८ मत रहेको मुख्य निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ । अल्पसंख्यक कोटाबाटै नगर कार्यपालिकामा प्रतिनिधित्व गर्न निर्वाचिनमा गएका नेपाली काँग्रेसका उमेश शिवा र दावा छेतेन शेर्पा पराजित भए । शिवाको १८ र शेर्पाको १७ मत रहेको छ ।
फुङ्लिङ नगर कार्यपालिकाको शनिवार सम्पन्न निर्वाचिन संगै ताप्लेजुङका स्थानीय तहको निर्वाचिन पनि सकिएको छ । २१ सदस्यीय नगर कार्यपालिकामा नगर प्रमुख सहित एमालेको १३, उपप्रमुख सहित माओवादी केन्द्रको ३ र काँग्रेसका ५ जना सदस्य रहेका छन् ।
५७ सदस्यीय नगरसभामा भने एमालेका ३५,काँग्रेसको १८ र माआवादी केन्द्रका ४ जनाको प्रतिनिधित्व छ । केन्द्रमा झैं नगर तथा गाउँसभाले संसद र नगर कार्यपालिका तथा गाउँ कार्यपालिकाले सरकारको काम गर्ने व्यवस्था रहेको छ ।
नगर कार्यपालिकामा थप निर्वाचित सबै सदस्य अव वडाध्यक्ष सरह रहने छन् । नव निर्वाचित सदस्यलाइ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख छत्रपति प्याकुरेल,बिभिन्न वडाबाट निर्वाचित वडाध्यक्ष तथा सदस्यहरुले बधाइ तथा कार्य सफलताको शुभकामना दिएका छन् ।(वेलकमखबर)



