पूर्वी रामेछापको खिम्तीमा आज मध्यरातमा छतिउने खोला र खहरे खोलामा आएको बाढीले ८ जना मानिस बेपत्ता भएका छन् । खिम्तीको छतिउने खोलामा आएको बाढीले कुमार खत्रीसहित २ जनाको घर र मानिस बगाएको हो ।
बाढीले बगाएर स्थानीय कुमार खत्रीका आमाको मृत्यु भएको छ । उनको शव फेला परेको स्थानीय गणेश दाहालले जानकारी दिए । बाढीले मैया खत्री, गेलुबाट गोरु किन्न गएका बासु, अशोक तामाङ र उनका छोरी बगाएको पुष्टि भएको छ ।
नजिकैका विकास कार्यमा काम गर्न डेरा लिएर बसेका कामदारहरु पनि सम्पर्कमा नआएकाले बेपत्ता हुनेको एकिन संख्या नआएपनि ८ जना बगाएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद खत्रीले जानकारी दिए ।
उनले सुरक्षाका तीनै वटा निकाय परिचालन भएपनि खोलामा जमेको दहका कारण बेपत्ताको खोजी र उद्दार गर्न समस्या परेको बताए। त्यहाँ भर्खरै जिल्ला प्रहरी कार्यालय रामेछापको टोली पुगेको बताइएको छ ।
बाढीले खिम्ति फर्पू जोड्ने पक्की पुल पनि बगाएको र खिम्ती बजारमा बन्दै गरेको पक्की पुलमा क्षति पुगेको बताइएको छ । त्यस्तै बाढीले खिम्ती खोलामा रहेको सिँचाइको कुलो पूर्णरुपमा बगाएको छ । खिम्ती खोलाको खहरे खोला थुनिँदा मुख्य बजारमा बाढी पसेको छ । बाढीले स्थानीय व्यापारीहरुको घरपसलमा क्षति पुगेको छ ।
बाढीले घर गोठ बगाउँदा दर्जनौ पशुचौपायाको शव यत्रतत्र छरिएका छन् भने बाढीकै कारण गाडी समेत पल्टिएको स्थानीय गणेश दाहालले जानकारी दिए । बाढीले पुल बगाएपछि दोलखा – ओखलढंगा सडक अवरुद्ध भएको छ ।



