प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मन्त्रिमण्डल विस्तार गर्ने निधो गरेका छन् । उनको यो निधोसँगै मन्त्रिका लागि देउवा र रामचन्द्र पौडेलकोमा सांसदहरुको घुईँचो लागेको छ ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हिजो साँझ र आज विहान भएको दुई चरणको छलफलपछि प्रधानमन्त्री देउवा बुधबार नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका हुन् ।
सरकार विस्तारको लागि माओवादी केन्द्रसँग मन्त्रालय बाँडफाँड र संख्या समेत टुँगो लगाईसकेका छन् । देउवा निकट स्रोतका अनुसार कांग्रेसले १२ वटा मन्त्रालय राख्ने र माओवादीलाई ९ मन्त्रालय दिने सहमति भएको छ ।
कांग्रेसभित्रै पनि पार्टी सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलवीच क–कसलाई मन्त्री बनाउने भन्नेबारे पनि टुँगो लगाइसकेकाछन् ।
स्रोतका अनुसार अहिलेपनि कांग्रेस सभापति देउवा निवास बुढानिलकण्ठ र प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री बन्नको लागि कांग्रेस सांसदहरुको ठूलो भीड नै लागेको छ ।
कांग्रेस र माओवादी केन्द्रबाट मन्त्री टुँगो लगाउनेबारे वार्ता टोली नै गठन भएको छ । उक्त वार्ता टोलीमा कांग्रेसबाट विमलेन्द्र निधि र रमेश लेखक छन् भने माओवादी केन्द्रबाट अहिलेका उपप्रधानमन्त्री कृष्णबहादुर महरा र नेता वर्षमान पुन छन् । वार्ता टोलीका सदस्य लेखकका अनुसार भोली सम्म मन्त्रीको नाम टुँगो लागिसक्नेछ ।
पार्टी सभापति देउवाले पनि आफ्नो तर्फबाट मन्त्रीको नाम तय गरिसकेका छन् । उनले तय गरेको नामहरुमा भीष्म आङ्दाम्बे, मिन बहादुर विश्वकर्मा र मान वहादुर बिक मध्ये एक जना । त्यस्तै रामहरि खतिवडा, अर्जुन जोशी, चन्द्र भण्डारीको पनि मन्त्रीको नाममा चर्चा छ ।
नेता पौडेलको तर्फबाट मन्त्री बन्नेहरुमा सांसद बलबहादुर केसी, राजन केसी, मिना पन्तको ,यज्ञबहादुर थापा रहेका छन् । त्यस्तै महामन्त्री सशांक कोइरालाबाट निवर्तमान मन्त्री दिपक खड्काको नाम तय भएको छ । दिपक खड्काले त भारतलाई समेत हात लिएको भन्दै पाटीको आयोजना समेत गर्दै हिडेकाछन् । खुमबहादुर खड्काको कोटाबाट मोहन बस्नेतको नाम तय भएको छ ।
कांग्रेसबाट राज्यमन्त्रीमा बुद्धिराम भण्डारी,विरवहादुर बलायर, मदन अमात्य, सुजाता परियार, सिता गुरुङ्,, हरि नेपाल, भरतबहादुर खड्का, जीवन परियार, सरिता प्रसाई, दिलमान पाख्रिनको चर्चा छ ।
नेपाल लोकतान्त्रिक फोरमले पनि तीन वटा मन्त्रालय पाउने भएको छ । जसमध्ये अहिले पार्टी अध्यक्ष विजयकुमार गच्छदार उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्रालय सम्हालेका छन् ।
साना दलबाट प्रेमबहादुर सिंह, हरिचरण साह र कुमार खड्का पनि मन्त्री बन्दैछन् । त्यस्तै, नेकपा संयुक्तबाट एक जना मन्त्री बन्ने पक्का पक्की भएको छ ।



