लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चे नजिकैको तारेभीरलाई ‘रक क्लाइम्बिङ’ को लागि प्रमुख गन्तव्य बनाइने भएको छ ।
चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने तारेभीरमा ‘रक क्लाइम्बिङ’ को लागी मस्र्याङ्दी गाउँपालिकाले पर्यटन प्रर्वद्धनका लागि दुई वर्षअघि अध्ययन थालेको हो । अन्तर्राष्ट्रिय माउन्टेन गाइडले दुई वर्षअघिदेखि अध्ययन थालेको उक्त भीर रक क्लाइम्बिङको लागि उपयुक्त रहेको अन्तर्राष्ट्रिय माउन्टेन गाइडको समूहले समेत निष्कर्ष निकालेको छ । अन्तर्राष्ट्रिय माउन्टेन गाइड विनायक जय मल्लले दुई वर्षअघि व्यक्तिगत खर्चमा तारेभीरमा अध्ययन थालिएको बताए । उनले भने तारेभीर रक क्लाइम्बिङका लागि नेपालको मात्र नभई विश्वकै उत्कृष्ट प्रशिक्षण थलो बन्न सक्नेछ ।
उहाँका अनुसार नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त माउण्टेन गाइड नेपालमा मात्र ७२ जना रहेका छन् । गण्डकी अल्पाइन क्लबका उपाध्यक्षसमेत रहेका उनले विदेशबाट प्राविधिक सामग्री ल्याएर तीनवटा बाटो पहिल्याएको बताउनुभयो । विज्ञ समूहले अध्ययन गर्दै आएको तारेभीरलाई मर्स्याङ्दी गाउँपालिकाले अपनत्व लिएपछि पूर्वाधार संरचना निर्माणको कामलाई अगाडि बढाएको छ । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले अन्नपूर्ण पदमार्गको च्याम्चेस्थित तारेभीर रक क्लाइम्बिङको उपयुक्त गन्तव्य रहेको बताउनुभयो ।
उहाँका अनुसार तारे भीरमा रक क्लाइम्बिङमात्रै नभई विभिन्न तालीम तथा प्रशिक्षण केन्द्रका रूपमा विकास गरिनेछ । अध्यक्ष गुरुङले गाउँपालिकाको च्याम्चे नजिकैको तारेभीरलाई रक क्लाइम्बिङको गन्तव्य बनाउनका लागि स्थानीयको भेला गरी रक क्लाइम्बिङको अध्ययन र सम्भाव्यताबारे जानकारी गराइएको बताउनुभयो ।
उहाँका अनुसार भौतिक पूर्वाधार निर्माण तथा यसको गुरुयोजना निर्माणको लागि यसको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेर अघि बढ्ने गरी मस्र्याङ्दी गाउँपालिका र गण्डकी अल्पाइन क्लबअघि बढेको छ ।
मर्स्याङ्दी गाउँपालिका ४ का वडाध्यक्ष सुमन गुरुङले पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले दुई लाख खर्च गरी च्याम्चेबाट दुई सय मिटर माथिसम्म ढुंगाको सिँढी निर्माण गरिएको बताउनुभयो । रक क्लाइम्बिङका लागि छनोट गरिएको उक्त थलो समुद्री सतहदेखि एक हजार ५ सय ४० मिटर उचाइमा पर्दछ ।



