एमाले अध्यक्ष केपी शर्मा ओलीले समय र परिस्थितिलाई बुझेर अघि बढन सत्तारुढ दल र प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिनुभएको छ । जनताको चाहना, परिवर्तनको तीब्र बेग र समय परिस्थिति नबुझ्दा पूर्वराजा ज्ञानेन्द्रको शासन ढलेको स्मरण गराउँदै ओलीले सत्तारुढ दललाई समय छँदै बुझन र जनताको भावना अनुसार काम गर्न सुझाउनु भएको हो ।
‘तपाइहरुलाई ज्ञानेन्द्र शाहको सम्वोधन याद छ ? समय र परिस्थितिलाई नबुझ्दा समाप्त भए, जनताको चाहना र परिवर्तनलाई आत्मसाथ गर्न नसक्दा राजतन्त्र गयो,’ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को सातौँ राष्ट्रिय अधिवेशन प्रतिनिधि परिषद् भेलाको बिहीबार राजधानीको राष्ट्रिय सभागृहमा उद्घाटन गर्दै ओलीले भन्नुभयो, ‘२००७ सालको जस्तो सम्झेर ज्ञानेन्द्र शाहले माघ १९ को सम्वोधन गर्नुभयो । उहाँको हाउभाउ पनि २००७ सालकै जस्तो थियो, ‘देशमा गणतन्त्र आएको थाहा नपाउँदा ज्ञानेन्द्रका हालत के भयो, अहिले सत्तामा पुगेका सबैलाई स्मरण नै होला ।
पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष ओलीले नेपालमा फेरि प्रतिगमन हुन्छ भनेर केही प्रेतहरुले हल्ला गरेपनि संभव नहुने उदघोष गर्नुभयो । ‘ नेपालमा फेरि प्रतिगमन हुन्छ भनेर केही प्रेतहरुले हल्ला गरेका छन, तर त्यो संभव छैन, अहिलेको जनता त्यत्ति कमजोर छैनन,’ ओलीको भनाई थियो ।
हामीले ३७७ स्थानमा जितेका छौँ
ओलीले स्थानीय निर्वाचनमा ६ प्रदेशमा भएको निर्वाचन मध्ये ३ सय ७७ स्थानमा जितेको प्रष्ट पार्नुभयो । ‘३ सय ६६ स्थानको त परिणाम नै घोषणा भयो,’ ओलीले भन्नुभयो, ‘चितवनमा पनि एमालेले नै जितेको छ । तर, त्यहाँ मतगणना भएको भएकै छ । त्यहाँ एमालेले जितेको छ । केही साथीहरुले एमालेले जित्यो भनेर भन्न सक्नुभएको छैन ।
एमाले जिफन्टको कब्जामा
ओलीले एमाले जिफन्टको कब्जामा गएको बताउनुभयो । ‘स्थानीय निर्वाचनमा एमालेले ३ सय ६६ स्थानमा जित्दा जिफन्टबाट प्रतिनिधित्व गर्ने २ सय ५० जनाले विभिन्न पदमा जित हात पारेका छन्,’ ओलीले भन्नुभयो, ‘यो त एमालेलाई जिफन्टले कब्जा गरे जस्तो भैगो नि १ खैर केही छैन् । जिफन्ट शक्तिशाली छ भन्ने प्रमाण हो यो ।’
जनप्रतिनिधि एमाले कार्यकर्ता नबन्नोस
ओलीले निर्वाचनमा उम्मेदवार बनुन्जेल एमालेको तर्फका उम्मेदवार भएको भन्दै विजयी भएपछि सबै जनताको प्रतिनिधि हुनुपर्नेमा जोड दिनुभयो । ‘अब तपाईँहरुले एमालेको कार्यकर्ता भएर काम नगर्नूहोस्,’ उहाँले भन्नुभयो, ‘जनप्रतिनिधि भएर काम गर्नूहोस् । एमालेका लागि होइन देश र जनताका लागि काम गर्नूहोस् ।’ उहाँले सबैको भोट पाएर जितेको अनुभूति गरेर काम गर्न पनि सुझाव दिनुभयो ।
‘कांग्रेस–माओवादीबाट जनप्रतिनिधि भएकाहरुले पार्टीको कार्यकर्ता भएर काम गरे भने उनीहरुलाई छाडिदिनुहोस्,’ उहाँले भन्नुभयो, ‘बाकसमा अरुलाई आएका भोट सबै बदर भएका हुन् । सबैले भोट नदिएको भए मैले कसरी जित्थेँ भनेर काम गनूहोस ।’



