बोलिभियाको दक्षिण पश्चिमी भागमा छ केरो रिको पहाड । बोलिभियामा लामो समयसम्म स्पेनी साम्राज्य रह्यो । स्पेनीहरु यस पहाडलाई धनी पहाड भन्थे किनकि त्यहाँ प्रसस्तै चाँदी पाइन्थ्यो ।
पूरै पहाड नै चाँदीले बनेको लाग्थ्यो स्पेनीसलाई तर स्थानीय मानिसहरु भने यो पहाडलाई मान्छे खाने पहाडको रुपमा चिन्दछन् । १६ औँ शताब्दीदेखि अहिलेसम्म यो पहाडले ८० लाख जना मानिसलाई खाइसकेको बताउँछन् स्थानीयहरु ।
सन् १५४५ मा स्पेनले उक्त पहाडको काखमा एक सानो शहर स्थापित गरी झण्डै ३० लाख स्थानीय मानिसहरुलाई जबरजस्ती चाँदी खानीको काममा लगायो । उक्त पहाडबाट सदियौँदेखि चाँदी उत्खनन् गरिँदै आएको छ । अनुमान अनुसार स्पेनीहरुले त्यहाँबाट दुई अर्ब औँस चाँदी निकाले । उक्त चाँदीले नै स्पेनलाई धनी बनायो । लगातारको उत्खनन्ले पहाडको उचाई भने घट्दै गयो ।
ठाउँ ठाउँमा सुरुंग तथा भ्वाङ परे । जसका कारण उत्खनन् कठीन बन्यो र दुर्घटना बढ्दै गयो । अहिले पनि उक्त ठाउँमा झण्डै १५ हजार खानी मजदुरले काम गर्दछन् । उक्त पहाडको आसपासमा धेरै विधवा महिलाहरु छन् । विधवाहरुले एक संगठन नै खोलेका छन् ।
उनीहरुका अनुसार हरेक महिना उक्त पहाडका कारण १४–१५ जना महिला विधवा हुन्छन् किनकि उक्त पहाडको चाँदी खानीमा काम गर्ने १४–१५ जना पुरुषको खानी दुर्घटनामा मृत्यु हुने गर्छ ।
चारैतर्फ धुलो तथा चट्टानबाट निस्कने विषाक्त ग्यासको बिगबिगी छ । सोही कारणले गर्दा खानी मजदुर तथा स्थानीय बासिन्दाहरु रोगका सिकार हुने गरेका छन् ।
त्यहाँ काम गर्ने वा बसोबास गर्ने मानिसहरुको औषत आयु ४० वर्षमात्र हुने गरेको छ । खानीमा दुर्घटना नहोस् भन्नका लागि त्यहाँ गहिराइका राक्षस मानिने एल टियोको मुर्ति राखेर पूजा समेत गरिन्छ । इतिहासकार एडुआर्डो गेलिनोका अनुसार १६ औँ शताब्दीदेखि हालसम्म यस पहाडमा ८० लाख मानिस मरिसकेका छन् । एजेन्सी



