छ महिना अघि फेसबुकबाटै माया पिरतीको जालमा फसेकी रुकुमकी दुई चेलीलाई दलाल प्रेमीले भारत बेच्न लैजादै गर्दा पश्चिम नेपालको गड्डाचौकी नाकाबाट माइती नेपालले उद्वार गरेको छ । यो घटनासँगै सूचना प्रविधिको बिकास नाजायज फार्इदा उठाउँदै चेलीबेटी बेचबिखनमा सक्रिय दलालले सोझा गाउँले चेलीबेटीलाई मायाजालमा फसाउँदै बेचबिखनको नयाँ तरिका बनाउन सुरु गरेको घटना बाहिर आएको छ ।
सामाजिक सञ्जालको दुरुपयोगका कारण युवतीहरु विभिन्न प्रलोभन र मायामा परी जोखिम युक्त जीवन काट्न बाध्य भएको विगत लामो समय विभिन्न समयमा समाचार सर्वजनिक हुने गरेको छ । यस्तै घटना सुदुर पश्चिमको कञ्चनपुर सीमा नाका गड्डाचौकीमा समेत पटक पटक देखिँदै आएको छ । चेलिबेटी बेचविखन विरुद्ध कार्य गर्दै आएका विभिन्न संघ संस्थाहरुले समेत पछिल्लो समय समाजिक संजालमार्फत चिनजान भई प्रेममा परेका युवतीहरुलाई विभिन्न प्रलोभनमा पारी विदेश भारत लगायत तेस्रो मुलुकमा लैजाने र उनीहरुलाई केहि पैसाका लागि नारकीय जीवनमा बाच्न बाध्य बनाउदै आएका घटना सार्वजनिक गर्दे आएका छन ।
त्यसैक्रममा फेसबुकबाट लभ परेपछि रुकुमका दुई युवती बेचबिखनको जोखिममा परेका छन् । विहिवार रुकुम जिल्लाका २७ र २९ वर्षीय ती युवती फेसबुक मार्फत् लभ परेपछि उनीहरु दुबै जना बेचबिखनको जोखिममा परेका हुन् ।
६ महिना अघि समाजिक संजालमार्फत चिनजान भएको र चिनजानकै क्रम प्रेममा परिणत भएपछि युवकले घुम्न कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बोलाएपछि उनीहरु गत साता महेन्द्रनगर आएका थिए । महेन्द्रनगर पुगेका युवतीलार्इ उक्त युवकले बनबासा पुल हेर्नका लागि प्रस्ताव राखेको सोही प्रस्ताव अनुसार उनीहरु केटा अघिअघि केटी पछिपछि जाँदैगरेको अवस्थामा उनीहरुको गतिविधि शंकास्पद देखेपछि चेकजाच गर्ने क्रममा गड्डाचौकीमा माईती नेपालले युवतीलाई आफ्नो शरणमा राखेको थियो । माईती नेपालले ती युवतीसँग पनि सोधपुछ गर्दा युवती जोखिममा पर्नसक्ने अवस्था देखेपछि आफूहरुले दुबैलार्इ प्रहरीको जिम्मा लगाएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताइन् ।
उनका अनुसार युवतीलाई फसाउन खोज्ने युवकको फोन मार्फत कुराकानी गर्दा युवक बनबासा थिए । युवक भेटिँदा उनको साथमा चरेश समेत भेटिएपछि भारतीय प्रहरीले ती युवकलार्इ पनि पक्राउ गरेको छ । माईती नेपालको सम्पर्कमा आएपछि ती युवतीहरुले घुम्न बोलाएर फसाउन खोजेको घटनापछि मात्रै थाहा भएको बताएका छन् । यस्तै आईतबार पनि माईती नेपाल कञ्चनपुरले एक युवतीको उद्दार गरेको छ । काभ्रेकी २२ वर्षीय एक युवतीलाई दुई युवकले कुवेत रोजगारीका लागि भन्दै गड्डाचौकीको नाका भएर भारत लैजान लागेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।



