बिष्णुप्रसाद पोखरेल
दमक/एन.आइ सी एशिया बैक क्षेत्रिय कार्यालय मेची सगरमाथाले आवश्यकता अनुसार कर्मचारी नै नपाएको गुनासो गरेको छ । शिक्षित बेरोजगारहरुको संख्या बढिरहेको बताइएपनि आफूहरुले बिभिन्न पदमा कर्मचारी माग गर्दा पनि आवश्यकता अनुसार कर्मचारीले आवेदन नै नदिएको बैकले गुनासो गरेको हो ।
१९ बर्ष पुरा गरी २० औ बर्ष प्रवेस गरेको उपलक्ष्यमा भएको पत्रकार सम्मेलनमा मेची सगरमाथाका क्षेत्रिय प्रबन्धक सुजन छराहाङ राइले पत्रपत्रिकामा बिज्ञापन छापेर कर्मचारीहरुको आवश्यकता खुलाएको बताउदै तर पनि अपेक्षाकृत रुपमा आवेदन नपरेको बताएकाहुन् । सोचेभन्दा धेरै कम आवेदन पर्ने गरेको भन्दै अब खोजेर ल्याएर जागिर दिलाउनु पर्ने अवस्था आउन लागेको राइको भनाइ थियो ।
आफूहरुले अहिलेको भन्दा दोब्बर शाखा बिस्तारको तयारी गरिरहेको जनाउदै कर्मचारी नपाउने पीरलो रहेको बताए । राइले योग्यता पुगेका ब्याक्तिहरुलाइ धेरै अवसर रहेको जनाए । उनले योग्यता र खोजेको मापदण्ड पुरा गरेकालाइ जागिरेका समस्या नरहेको भन्दै त्यस्ता ब्याक्तिहरुलाइ आफ्नो बैकले पनि अवसर दिने बताए । उनले भने–‘बैकमा आकर्षण हुनु पर्ने हो तर आवेदन नआएका देख्दा हामी नै अचम्मित भएका छौ ।’
नेपालको उत्कृष्ठ बैकहरुमध्येमा नै पर्ने एनआइ सी बैकको मेची सगरमाथा क्षेत्रिय कार्यालय मातहतमा १२ वटा बैकका शाखाहरु रहेको र अब २५ वटा शाखा पुर्याउने उदेश्य अनुसार काम भइरहेको राइले जनाकारी दिए । सरकारले हरेक स्थानीय तहमा बैक पुर्याउने उदेश्य अनुरुप गरेको परिपत्रमा आफूहरुको भागमा ताप्लेजुङको मिरिङदेन र झापाको केचनाकवल भागमा परेको पनि राइले बताए । यहाँ तत्कालै शाखा बिस्तारको लागि काम शुरु भइसकेको उनको भनाइ थियो ।
झापामा आफूहरुले जति कुनै पनि बैकले लगानी नगरेको दाबी गर्दै राईले अब ग्रामिण तहमा समेत पहुँच बृद्धिमा लागेको जनाउनु भयो । आफू मातहतका शाखाहरु मार्फत गत आर्थिक बर्षसम्ममा ७ अरब ७० करोडको लगानी भइसकेको र यो अवधिमा ४ अरव ४१ करोड निक्षेप संकलन रहेको पत्रकार सम्मेलनमा राइले बताउनु भयो । सबैभन्दा बढि ब्याक्तिगत र ब्यापारीक क्षेत्रमा लगानी भएको बताईएको थियो ।
बैकले देशभर ८७ अरब निक्षेप संकलन गरेको र साढे ७२ अरब लगानी गरेको पनि जानकारी दिएको थियो । ९५ अरबको वासलत रहेको बैकमा २ हजारभन्दा बढि कर्मचारी रहेको पनि जनाईएको थियो । बैकको हालसम्म देशभर १ सय १९ शाखा कार्यालयहरु, ४ बिस्तारित काउण्टरहरु र ७० एटीएम र ४ हजार रेमिट्यान्स काउण्टर मार्फत सेवा दिइरहेको बताईएको थियो ।



