भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादका बीच परेको मुद्दा आज पनि सर्वोच्चमा हेर्दाहेर्दैमा रहेको छ।
आज न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मुद्दाको सुनुवाई गरे पनि हेर्दाहेर्दैमा रहेपछि अर्को पेशी बिहीबार साउन १२ गतेका लागि तोकिएको छ।
यसअघि साउन २ गते भएको सुनुवाई हेर्दाहेर्दैमा रहेपछि न्यायाधीश भण्डारीको विदेश भ्रमणपछि हिजोका लागि पेशी तोकिएको थियो। हिजो पनि मुद्दा हेर्दाहेर्दैमा रहेको थियो।
असार १३ गते च्यातिएका मतपत्र भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वोच्चमा पेस गरेको थियो। अदालतको असार ६ गतेको आदेश अनुसार च्यातिएका मतपत्र सर्वोच्चमा पेस भएका हुन्।
जेठ १४ गते मध्यरातमा मतगणना जारी रहेको बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित छ। भरतपुरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भइसेको छ। मतपत्र च्यातिएको वडा १९ को मतगणना पनि अन्तिम चरणमा थियो।
मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो। पुनः मतदानको निर्णयविरुद्ध एमालेका वडा नम्बर १९ का वडा सदस्य उम्मेदवार समेत रहेका गुन्जमान बिकले सर्वोच्चमा रिट दायर गरेका थिए।



