विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच पार्टी एकिकरण हुने भएको छ । पार्टी एकिकरण प्रयोजनका लागि दुबै पार्टीले बनाएका बार्ता समितिले सैद्धान्तिक र वैचारिक विषयहरु मिलाइसकेको र केही प्राविधिक विषय मिलाउन बाँकी रहेको जनाएका छन् ।
विवेकशील नेपालीले रमेश पौडेलको संयोजकत्वमा गोविन्द नारायण सदस्य र साझा पार्टीले डा।सूर्यराज आचार्यको संयोजकत्वमा मुमाराम खनाल सदस्य रहेको बार्ता समिति बनाएका छन् ।
विवेकशील नेपालीका बार्ता टोली संयोजक पौडेलले सैद्धान्तिक र राजनीतिक विषयमा सहमति नजिक पुगिएको र केहि प्राविधिक विषय मिलाउन बाँकी रहेको जानकारी दिए । ‘सैद्धान्तिक र वैचारिक पक्षमा लगभग सहमति भइसकेको छ, केहि प्राविधिक पक्ष मिलाउन बाँकी छ,’ पौडेलले नयाँ पत्रिकासंग भने ‘मूल्य मान्यता र निष्ठाको राजनीतिलाई स्थापित गर्न बैकल्पिक शक्ति एक हुने प्रक्रिया केहि दिनमा टुंग्याउने गरी हामी लागि रहेका छौ ।’
साझा पार्टीका बार्ता टोली संयोजक डा। आचार्यले मुलुकको विकासका लागि बैकल्पीक राजनीतिक शक्ति एक भएर अघि बढ्ने आवस्यक रहेको ठानेर एकिकरण गर्नका लागि प्रयास थालिएको बताए । ‘हो, हामी एकिकरणका लागि सघन बार्तामा छौ,’ डा। आचार्यले भने ‘केहि दिनमा नै एकिकरणको औपचारिक घोषणा गर्ने तयारी हाम्रो छ ।’
एकिकरण पछि तत्कालका लागि सामूहिक नेतृत्वमा जाने सहमति दुई पक्षबीच बनेको छ ।स्थानीय तहको निर्वाचनअघि नै पार्टी एकता प्रयास भएपनि एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा कुरा मिलेको थिए । अहिले विवेकशील नेपालीको अध्यक्ष उज्ववल थापा र साझा पार्टीको संयोजक रविन्द्र मिश्र छन् ।
साझा पार्टीका बार्ता टोली संयोजक डा। आचार्यले तत्कालका लागि दुवै पार्टीको नेतृत्व तहलाई समायोजन गरी सामुहिक नेतृत्वमा अघि बढ्ने र निकट निकट भविष्यमा एकता महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने सैद्धान्तिक सहमति बनेको जानकारी दिए ।
एकिकृत पार्टीको नाम र झण्डा के राख्ने विषयमा छलफल भइरहेको पौडेलले बताए । ‘एकिकृत पार्टीको नाम र झण्डाका विषयमा छलफल भइरहेको छ’ पौडेलले भने ‘ नाम एउटा पार्टीको भए अर्को पार्टीको चुनाव चिन्ह राख्नेगरी सहमति जुटाउने प्रयास भइरहेको छ ।’नँया पत्रिकामा खबर छ ।



