झापा । इलाम, सुनसरी र मोरङको छुट्टाछुट्टै दुर्घटना परी तीन जनाको मृत्यु भएको छ । सूर्योदय नगरपालिका- ३ तीनखुट्टेस्थित फिक्कल-पशुपतिनगर सडक खण्डमा दुर्घटनामा परी मोटरसाइकल चालक सूर्योदय- १ बाङ्गिनका २३ वर्षीय सौगात राईको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब साढे ४ बजे फिक्कलबाट पशुपतिनगरतर्फ जाँदै गरेको को १ ज ३५८९ को जिप र विपित दिशातर्फ जाँदै गरेको मे ११ प ८४९ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक राई घाइते भएका थिए। उनको उपचारको क्रममा शुक्रवार साँझ झापाको बिएण्ड्सी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि रहेका बाङ्गिनकै २६ वर्षीया सम्झना राई घाइते भएकी छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै शुक्रबार बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका- ८ स्थित कोसी लोक मार्गमा को २०प ९८९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किई दुर्घटना भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक विराटनगर १४ का ३० वर्षीय श्याम कामतको उपचारको क्रममा विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी मोरङको जहदा गाउँपालिका- ६ स्थित भित्री सडक खण्डमा सडक किनारमा राखिएको गोरुगाडामा को ३५प ३४०५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक विराटनगर १९ का २६ वर्षीय लक्ष्मी सरदार गम्भीर घाइते भई उपचारको लागि कोसी अस्पताल पुर्याउन् साथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।



