लमजुङ र कास्की जोड्ने रुदी दोभानको अस्थायी पुलबाट बस खस्दा दुई जनाको चेपिएर मृत्यु भएको छ भने अन्य दुई महिला हराईरहेका छन् । कमजोर पुल भएका कारण तर्ने क्रममा पुल भाच्चिएर बस नदीमा खसेको छ ।
चेपिएर दुई जना पुरुषको मृत्यु भएको र उनिहरुको सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ । पोखराबाट लमजुङको रामबजार हुँदै कास्कीको मुंग्रेबेंसी भएर लमजुङको पसगाउँफेदी बगैंचा जाँदै गरेको ना५ख ६३९५ नम्वरको यात्रुबहाक बस दुर्घटनामा परेको हो ।

बाढीले पुलको जग कमजोर बनाएपछि बसले पुल तर्ने क्रममा जग हल्लिएको र पूल समेत भाँचिएपछि न जाँदा बस खसेको यात्रुहरुले बताएका छन् ।
पानीभित्रै रहेकाले बस उद्धारका लागि क्रेन चाहिने र भोर्लेटारबाट क्रेन ल्याउने तयारी भइरहेको छ । दुर्घटनामा परि गम्भीर घाइते १४ जनालाई उपचारका लागि पोखरा र लमजुङको रामबजारतर्फ पठाइएको छ । रामबजारतर्फ पठाएका घाइतेको प्राथामिक उपचारपछि पोखरा लगिएको प्रहरीले जनाएको छ ।
प्रहरी घटनास्थल पुगिसकेकाले बगाएकाको खोजी भईरहेको छ । बसमा करिव ३५ यात्रु सवार रहेको प्रहरीले जानकारी दिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



