काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार झापा जानुहुने भएको छ ।
प्रेस चौतारी नेपाल प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्न अध्यक्ष ओली गृहजिल्ला जान लाग्नुभएको हो । बिहान ८ः३० बजे भद्रपुर विमानस्थलबाट सोझै सालबारीस्थित सहिद स्मृति पार्कमा गएर बिहान ९ः३० बजे सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम रहेको एमाले झापाको प्रचार विभागले जनाएको छ।
ओलीले शनिवारनै कमल गाउँपालिका वडा नं ६ खयरबारीमा रतुवा(मावा तटबन्धको शिलान्यास गर्नुहुनेछ ।
प्रेस चौतारीको कार्यक्रम लगत्तै उहाँले बिर्तामोडको सिटी सेन्टरमा रहेको साई पार्टी प्यालेसमा आयोजित नेपाल खेलकुद महासंघ प्रदेश १ को प्रथम अधिवेशनमा सम्बोधन गर्ने कार्यतालिका रहेको एमाले झापाले जनाएको छ।
त्यसपछि बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आयोजित पाँचौं झापा गोल्डकपको उद्घाटन गरी खेल हेर्ने कार्यक्रम रहेको छ।
ओली शनिबार साँझ ६ बजेको हवाई उडानबाट काठमाडौँ फर्कनुहुने कार्यक्रम छ।



