काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड न्यारोबडी ए-३२० जहाजले शनिबारदेखि पुनः नियमित उडान शुरु गरेको छ । इन्जिनमा समस्या आएर कतारको दोहामा दुई महिनाअघि ग्राउन्डेड भएको उक्त जहाज मर्मतपछि उडानयोग्य भएको थियो । उक्त जहाजको एउटा इन्जिन भाडामा लिएर उडानयोग्य बनाइएको हो ।
ग्राउन्डेड जहाज मर्मतपछि आजदेखि नियमित उडान शुरु गरेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । उनले भने, ‘जहाज आजदेखि उडिसक्यो, यो जहाज बन्दै नबनोस्, नउडोस् र यसको विरोध गरेरै खान पाइयोस् भनेर केही मान्छे लागेका थिए । मैले काम गरेर उनीहरूको मुखमा बुझो लगाइदिएको छु ।’
कार्यकारी अध्यक्ष अधिकारीले निगमको व्यवस्थापन सुधारदेखि सेवा सुदृढीकरण र बजार विस्तारमा आफू अहोरात्र लागिपरेको बताए । आफ्नो मिहिनेत, कर्मचारीको साथ र सहयोगले नै छोटो समयमा निगमभित्र धेरै सकारात्मक परिवर्तन गरिएको र यसलाई परिणाममुखी बनाउने दिशामा अग्रसर रहेको उनले उल्लेख गरे । अन्य काममा पनि निगमभित्रका कर्मचारीहरूको सहयोग र तालुकदार मन्त्रालय र नियामक निकायसँगको समन्वयमा केही नतिजामुखी काम भएको उनको जिकिर छ ।
निगमको उक्त जहाज २८ डिसेम्बर २०२१ मा काठमाडौं-दोहा नियमित उडानमा सुरक्षित अवतरणपश्चात् पार्किङ गर्ने क्रममा एउटा इन्जिनमा प्राविधिक समस्या देखिएको थियो । दोहास्थित कतार एयरवेजका इन्जिनियरले जहाज निरीक्षण गर्दा बायाँतर्फको इन्जिनमा खराबी पहिचान भएको थियो । इन्जिन फेर्नुपर्ने प्राथमिक राय प्राप्त भएकाले निगम व्यवस्थापनले जहाजलाई छिटो उडानयोग्य बनाउन इन्जिन भाडामा लिएर उडाउने निणर्य गरेको थियो । इन्जिन भाडामा लिन ९ जनवरी २०२२ मा आरएफपी आह्वान गरिएको थियो ।
इच्छुक कम्पनीबाट बोलपत्र आह्वान गरिएकामा छनोट भएको एमटियू मेन्टिनेन्स लेन्स सर्भिसले इन्जिन भाडामा दिएर जहाज उडानयोग्य बनाएको निगमले उल्लेख गरेको छ । उक्त इन्जिन मर्मतका लागि निगमले २४ जनवरी २०२२ मा बोलपत्र आह्वान गरिसकेको छ । निगमको अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाज छन् । रासस



