काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन गरेर चुनाव जितिहालिन्छ भन्ने भरमा नबस्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । उनले कार्यकर्ताहरूलाई मुलुकमा आएका राजनीतिक परिवर्तनको रक्षा गर्नका लागि माओवादीले एक्लै चुनाव जित्ने तयारीमा लाग्नुपर्ने बताएका हुन् ।
माओवादीको उपत्यका, सम्पर्क समन्वय विशेष प्रदेश तथा प्रवास समन्वय समितिको संयुक्त वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै कार्यकर्ताहरूलाई चुनावी तयारीका लागि गाउँघर जान अध्यक्ष दाहालले निर्देशन दिएका हुन् ।
स्थानीय तहको २०७९ बैशाख ३० गतेका लागि तय निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा दाहालले कार्यकर्ताहरूलाई पार्टीको पक्षमा माहोल बनाउन भनेका हुन् । दाहालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘गठबन्धन कायमै रहन सक्छ तर हामी आफ्नो खुट्टामा उभिन पर्यो । हामी २०६४ को जस्तो माहोलमा फर्किन पर्यो ।’ जनता अहिले पनि माओवादीको पक्षमा रहेको दाहालको दाबी थियो ।
स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धन कायमै रहला र जितौंला भन्ने भरमा नपर्न दाहालले कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए । ‘अरुको भर पर्ने, गठबन्धन गरेर जितिहालिन्छ भन्ने भरमा नपरौं । हामी आफ्नै बलमा जित्छौं । जनतामा पनि एक खालको माहोल छ,’ उनले भनेका थिए, ‘माओवादीलाई सक्न कसैले सक्दैनन् । माओवादीलाई सक्ने भए उहिल्यै सकिहाल्थे ।’
कार्यकर्ताहरूलाई गाउँगाउँ जान र गल्ती भएको जनतासँग माफी माग्न दाहालले भनेका थिए । ‘अब चुनावलाई मोर्चाका रूपमा लिनुपर्छ । अहिले पनि चौतर्फी रूपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा घेराबन्दी छ । त्यसलाई तोडेर अगाडि बढ्नुपर्छ,’ उनले भनेका थिए, ‘हामी कतै न कतै बिग्रिएका र भत्किएका छौं । जनतासँग गएर माफी माग्ने, पुराना नेता कार्यकर्ताकहाँ जाने हो । सहिद, बेपत्ता, घाइते, अपांग कहाँ जाने, उहाँहरूको दुःखसुख बुझ्ने गर्नुहोला ।’
मुलुकमा राजनीतिक परिवर्तन माओवादी पार्टीले ल्याएकाले त्यसको रक्षाका लागि माओवादीको नेतृत्वमा मुलुक सञ्चालन हुनुपर्ने दाहालको तर्क थियो ।
त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा जानका लागि एमसीसी सम्झौता पारित गर्न खोजेपछि ब्याख्यात्मक घोषणापछि पारित गरिएको दाहालले कार्यकर्ताहरूलाई बताएका थिए । अर्का कार्यकर्ताले भने, ‘एमसीसी सम्झौता जस्ताको तस्तै पारित गर्न ओलीले प्रधानमन्त्री देउवासँग मिल्ने र प्रधानमन्त्री आफू बन्ने तयारी रहेछ । हामीले ब्याख्यात्मक घोषणामार्फत सम्झौता अगाडि बढाएका हौं भन्नुभयो ।’



