भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गर्ने कि नगर्ने भन्न बारेमा सर्वोच्च अदालतमा चलिरहेको बहस सकिएको छ । फेरि मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध रिट दायर गरेका गुञ्जमान विक पक्षका वकिलहरुले आइतबार जवाफी बहस गरेका छन् ।
जवाफी बहस सकिएको र अब न्यायाधीशले निर्णय गर्न मात्र बाँकी रहेको अधिवक्ता विजयकान्त मैनालीले उज्यालोलाई जानकारी दिनुभयो । ‘हामीले हाम्रो बहस सकेका छौं, अब न्यायाधीशको हातमा छ’ उहाँले भन्नुभयो, ‘निर्णय आजै आउन पनि सक्छ, न्यायाधीशहरुले थप अध्ययन गरेर अर्को दिनलाई सार्न पनि सक्छन् ।’
न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा साउन २ गतेदेखि यो मुद्दामा सुनुवाई हुँदै आएको छ । रिट दायर भएको २ महिना हुँदा समेत फैसला नहुँदा निर्वाचित प्रतिनिधिले काम गर्न पाएका छैनन् । मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुन मतदान गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको हो ।
रिटको पक्षमा बहस गर्ने वकिलहरुले पुनः मतदान गर्ने योजना अनुरुप भरतपुरमा माओवादी कार्यकर्ताले मतपत्र च्यातेको भन्दै यस्तो अपराधकर्मलाई प्रोत्साहन गर्नेगरी फैसला गर्न नहुने जिकिर गरेका छन् । मतगणनास्थल कब्जा भएको नदेखिएकाले गलत कामको नजिर बस्न नदिनेगरी निर्णय हुनुपर्ने उनीहरुको माग छ ।
ठ्याक्कै दुई महिना भयो
भरतपुर मतगणनाबारेको विवाद सुरु भएको ठ्याक्कै दुई महिना पुगेको छ । पहिलो चरणको निर्वाचन कार्यक्रमअनुसार भरतपुरमा वैशाख ३१ मा मतदान भएको थियो । जेठ १ गतेदेखि मतगणना सुरु भयो । भोलिपल्ट जेठ २ गते साँझबाट परिणाम आउन सुरु भयो ।
जेठ १४ गते दिउँसोसम्म २७ वटा वडाको मतपरिणाम घोषणा भयो । मत गन्न बाँकी वडाहरू १९ र २० मात्रै थिए । १९ को मत गनेर सकिने बेलामा मतपत्र च्यातिएपछि जेठ १४ को मध्यरातदेखि सुरु भएको भरतपुरको अन्योल अहिलेसम्म कायमै छ ।
कुल २८१८ मत खसेको भरतपुरको १९ नम्बर वडामा १८ सय मत गनेर सकिएर अन्तिम हुँदै गर्दा मतपत्र च्यातिएका हुन् । मतपत्र च्यातेको आरोपमा प्रहरीले माओवादीको दुईजना गणना प्रतिनिधिलाई तत्काल गिरफ्तार गरी चितवन जिल्ला अदालतमा मुद्दा दायर भयो । पछि उनीहरु धरौटीमा रिहा भइसकेका छन् । २० नम्बर वडामा ३ हजार ३ सय २ मत खसेको थियो ।
मेयर पदमा एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहाल प्रतिस्पर्धामा थिए । गणनाको अन्तिम नतिजा आउँदासम्म एमालेका ज्ञवाली माओवादीकी दाहालभन्दा ७ सय ३३ मतले अघि हुनुहुन्थ्यो ।
निर्वाचन आयोगले फेरि मतदान गर्नुपर्ने निर्णय गरे पनि १९ नम्बर वडामा एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान बिक र अधिवक्ता तुलसीराम पाण्डेले च्यातिएका मतपत्र बदर गरी बाँकी मतगणना माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।



