एमाले स्थायी कमिटीको बैठकले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाले जनमतको अवमूल्यन भएको निष्कर्ष निकालेको छ ।
सोमबार पार्टी अध्यक्ष केपी ओली निवासमा बसेको बैठकले सर्वोच्चको फैसलाले भविष्यमा गलत नजिर स्थापित हुने शंका र चिन्ता उब्जाएको निष्कर्ष निकालेको हो ।
एमाले सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसलाई गम्भीर रुपमा लिई भरतपुर महानगरपालिका १९ नम्बर वडाका जनताले आफ्नो अभिमतको रक्षा गर्दै नगर प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीलाई विजयी बनाई न्याय दिनुहुनेछ भन्ने विश्वास बैठकले गरेको छ ।’
विज्ञप्तिमा, ‘गत वैशाख ३१ गते सम्पन्न भरतपुर महानगरपालिकाको मतगणना भइरहँदा जेठ १४ गते राती माओवादी केन्द्रका प्रतिनिधिहरुले आफू निर्वाचन हार्ने निश्चित भइसकेपछि सुनियोजित ढंगले मतपत्र च्यातेको घटनाले प्रचलित कानून, लोकतान्त्रिक मूल्य र निर्वाचनका सर्वस्वीकार्य मान्यतालाई उपहास गरेको र स्वतन्त्र एवम् स्वच्छ निर्वाचनका पक्षधरहरुलाई आक्रोशित तुल्याएको तथ्य स्मरणीय छ’ भनिएको छ ।
‘सर्वोच्च अदालतबाट सुनियोजित ढंगले मतपत्र च्यातिएको तर मतगणना स्थल कब्जा नभएको स्थितिलाई ध्यानमा राखी पुनः मतगणना हुनुपर्ने मागसहितको मुद्दामा पुनः मतदान हुने गरी भएको फैसला दुःखद् छ, विज्ञप्तिमा भनिएको छ ।
भरतपुर मतगणना विवाद निरुपण गर्न सर्वोच्चले आइतबार मात्रै निर्वाचन आयोगको निर्णय सदर हुने गरी फैसला सुनाएको थियो । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मतगणना नियमित गर्न र निर्वाचन आयोगको निर्णय रद्द गर्न भन्दै वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले दर्ता गरेको रिट खारेज गर्दै पुनः मतदान गर्न आदेश दिएको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर १९ का मतपत्र गणनाका बेला च्यातिएपछि निर्वाचन आयोगले छानविन समितिले दिएको प्रतिवेदनका आधारमा पुनः मतदान गराउने निर्णय गरेको थियो ।
आयोगको निर्णयविरुद्ध विक र पाण्डेले हालेको रिटमा न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले अन्तरिम आदेश दिएको थियो । राणाको अन्तरिम आदेश पनि निस्तेज भएको छ ।
जिल्ला समन्वय परिषद्का प्रमुख र उपप्रमुखको टुंगो
बैठकले जिल्ला समन्वय परिषद्का प्रमुख र उपप्रमुखका लागि पार्टी जिल्ला कमिटीबाट आएका सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिस र राय सल्लाह अनुसार बाँकी जिल्लाको टुंगो लगाएको छ ।
दैलेख : प्रमुख पे्रमबहादुर थापा, उपप्रमुख लक्ष्मी शाह
ताप्लेजुङ : प्रमुख घनेन्द्र मादेन, उपप्रमुख देवीमाया नेपाली
सिन्धुपाल्चोक : प्रमुख गोपाल तामाङ, उपप्रमुख बालकुमारी सापकोटा
धादिङ : प्रमुख जगन्नाथ नेपाल, उपप्रमुख बिन्दा दराम नेपाली
काठमाडौं : प्रमुख शिव वैद्य, उपप्रमुख सरिता दाहाल
सिन्धुली : उपप्रमुख शंकर बर्मा



