काठमाण्डाै – पाँचथरकाे फालेलुङ गाउँपालिकामा पहिरोमा बेपत्ता भएका तीन जनाको शव भेटिएको छ ।पहिरोमा बेपत्ता भएका ४२ वर्षीय रुपलाल मगर, उहाँकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको शव फेला परेको वडा-७ का वडाअध्यक्ष शेरबहादुर केरुङले जानकारी दिनुभयो ।गएराति गएकाे पहिराेले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलालको घर बगाएको थियो। घर बगाउँदा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने उछिट्टिएर बाँच्न सफल हुनुभएकाे थियाे । पहिरोले ढुङ्गा, माटोले बनेको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
यस्तै काठमाण्डाै – पूर्वका झापा, इलाम, भोजपुरसहित केही जिल्लामा ठूलो पानी परेको छ ।झापाको शनिश्चरे, चन्द्रगढी आसपासमा पछिल्लो तीन घण्टामा ठूलो पानी परेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।मेची, विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा बाढीको जोखिम छ । तटीय क्षेत्र तथा डुबान भइरहने होचा क्षेत्रहरुमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
त्यस्तै, निरन्तर पानी परेकाले पहिरोग्रस्त क्षेत्रमा पनि सावधानी अपनाउन भनिएको छ । केही ठाउँमा ठूलो पानी परेको भए पनि देशका मुख्य नदीमा आउँदाे तीन दिनसम्म जलसतह सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ ।
काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लामा पनि सामान्य पानी परिरहेको छ । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।
आज तराई क्षेत्रका केही ठाउँमा पनि हल्का पानी पर्ने अनुमान छ ।सबैको जानकारीको शेयर गर्नुहोस !!!



