जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा सरकारले शनिबार राष्ट्रिय शोक मनाउने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आबेको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
सरकारले आबेको गोली प्रहार गरी हत्या भएको उक्त निन्दनीय कार्यको सरकारले घोर भर्त्सनासमेत गरेको छ । सरकारले उनको निधनप्रति गहिरो दुःख प्रकट गर्दै जापान सरकार, जापानी जनता र आबेको परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
‘नेपाल सरकारले स्वर्गीय आबेको सम्मानमा मिति २०७९ असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ’, मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।
जापानका पूर्वप्रधानमन्त्री आबेको शुक्रबार गोली हानी हत्या भएको हो । जापानको दक्षिणपश्चिम नारा सहरमा चुनावी भाषणका क्रममा आबेमाथि एक व्यक्तिले गोली प्रहार गरेका थिए ।
गोली लागी ढलेका उनलाई उपचारको लागि नारा मेडिकल युनिभर्सिटीमा लगिएको थियो । स्थानीय समयअनुसार ५ बजेर ३ मिनेट जाँदा उनको निधन भएको घोषणा अस्पतालले गरेको थियो ।



