झापा : पूर्वी नाका मेची पुलबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा कन्काई नगरपालिका-४ निवासी ३२ वर्षीय सनम श्रेष्ठ र सोही ठाउँका २५ वर्षीय सन्दीप कुमाल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए।
प्रहरीका अनुसार शनिबार दिउँसो पौने २ बजे मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेची पुलमा इलाका प्रहरी कार्यालय र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागेर चेकजाँच गर्दा कुमालको साथबाट ६ ग्राम ब्राउन सुगर फेला परेको थियो।
ब्राउन सुगरसहित फेला परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।



