रोटरी क्लब अफ धरान घोपा र रोटर्याकट क्लब अफ धरान घोपाले प्रत्येक बर्षझै यस बर्ष पनि बोलबम महिना अन्तर्गत पिण्डेश्वर बाबाधाम नि : शुल्क स्वास्थ्य शिविर आयोजना गरेका छन् ।
यो स्वास्थ्य शिविर श्रावण महिनाको प्रत्येक आइतबार र सोमबार हुने गर्दछ जसमा बि. पि. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका चिकित्सकहरु तथा रोटर्याकटरहरुको सहभागिता हुन्छ । पिण्डेश्वर बाबाधाम आएका श्रद्धालु भक्तजनहरुलाई लक्षित यो नि : शुल्क स्वास्थ्य शिविरमा चोटपटक लागेका , जलवियोजन भएका , झाडापखाला लागेका , बेहोस भएका भक्तजनहरुलाई नि : शुल्क स्वास्थ्य जाँच गरि नि : शुल्क औषधि वितरण गरिन्छ ।
यसका साथै जीवन जल र ग्लुकोज वितरण , सर्जिकल ड्रेसिङ्ग , टि. टि. खोप आदिको व्यवस्था र गम्भीर घाइते वा बिरामी भएका भक्तजनहरुलाई रेड क्रसको एम्बुलेन्सद्वारा बि. पि. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षसम्म नि : शुल्क पुर्याउने सुविधा रहेको जानकारी प्रतिष्ठानमा एम.बि.बि.एस. दोस्रो बर्षमा अध्ययनरत क्लबका प्रवक्ता रोटर्याकटर शुभम कुमार अग्रवालले दिए।
मन्दिर समितिको सहयोगमा विगत आठ बर्षदेखि मन्दिर प्राङ्गणमा निरन्तर आयोजना गरिएकोे सो शिविरमा यस पालि १२३ जना श्रद्धालु भक्तजनहरुलाई स्वास्थ सहयोग गरिएको थियो। प्रतिष्ठानका डा. राहुल कर्ण , डा. न्युटन रानाभाट , रोटर्याकटर शुभम कुमार अग्रवाल, गिरेन्द्र यादव , बोलबम रज्ज्क र विजयानन्दले सो शिविरमा भक्तजनहरुलाई अहोरात्र स्वास्थ सेवा प्रदान गर्नुभयो।



