काठमाडौं । भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
नेपालका लागि पहिलो हाफमा रश्मि कुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । घिसिङले पहिलो हाफको इन्जुरी समयमा गरेको गोलले नै नेपाललाई फाइनल पुगाएको हो । महिला साफमा भारतमाथि नेपालको यो पहिलो जित हो ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८-० गोल अन्तरले पराजित गर्दै बंगलादेश फाइनल पुगेको हो ।
पूरा समय भुटामाथि हाबी भएको बंगलादेशले दोस्रो हाफमा थप ४ गोल गर्यो। खेलको ५४औं मिनेटमा सबिनाले गोल गर्दै टिमको अग्रता ५-० को बनाएकी थिइन्। खेलको ५७औं मिनेटमा प्रभिन, ८७औं मिनेटमा खातुन र खेलको इन्जुरी समयमा सबिनाले ह्याट्रिक पूरा गर्दै बंगलादेशलाई ८-० को जित दिलाउन सफल भएकी थिइन् ।



