बारा । बाराको सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने चालकसहित ३६ जना घाइते छन् । उक्त बसमा सवार केही यात्रुमात्र सामान्य रहेका र धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यही बसमा सवार १५ वर्षीय बालक हुन् बिरोज पाख्रिन ।
बारा घर भएर मकवानपुरगढी बस्ने बिरोज मूलघरको टीका सकेर बिहानै बाराको अमलेखगञ्जमा रहेको घरमा पुग्न बिहान ५ बजे नै हेटौंडा बसपार्क पुगेका थिए । आफ्ना ४५ वर्षीय बुबा ललित पाख्रिनका साथ उनी बस कुर्दै थिए । दशैँका कारण थोरै सवारी र त्यसमा पनि खचाखच भरिएर आएका सवारी साधनहरुका कारण ३-४ घण्टा बसपार्कमा नै कुर्नुपर्यो ।
धेरैपछि नारायणगढबाट बीरगञ्जका लागि छुटेको बा ०६–००१ ख ०११० नं को बस बसपार्कमा आइपुग्यो र पाख्रिनका बुबा छोरा चढे । बस बीचबीचमा यात्रुहरु चढाउँदै चुरियामाई मन्दिरनजिक पुगेर रोकियो । त्यहाँ पनि चार जना यात्रु बस चढे । त्यसको केहीबेरमा नै अगाडिबाट ब्रेक फेल भयो भन्ने आवाज आएको उनले सुने । बस चढेका चार यात्रु बस्न नपाउँदै अगाडिबाट बसको ब्रेक फेल भयो भन्ने आवाज सुनिएको उनले बताए ।



