एक हप्ता अगाडी विहीबार धादिङको खनियाबास गाउँपालिका अन्तर्गत दार्खामा रहेको प्रहरी चौकीका असइ बीर बहादुर गुरुङको रहस्यमयि ढंगबाट हत्या भयो । हत्या पश्चात विभिन्न रुपमा सामाजिक सञ्जालमा प्रश्नहरु समेत उठे । तर, उक्त हत्या प्रकरणको नयाँ रहस्य पत्ता लागेको छ । मुख्य आरोपी शान्तालाल भनिने सुशील गुरुङले प्रहरीमा आत्मसमर्पण गरेपछि घटनाको नयाँ रहस्य बाहिर आएको हो ।
प्रहरी हिरासतमा रहेका सुशीलका अनुसार उनकी श्रीमति र मृतक सइ बीर बहादुर गुरुङबीच यौन सम्बन्ध भइरहेको देखेपछि उक्त घटना भएको थियो । ‘म घरमा आउँदा बुढीसँग आपत्तिजनक अवस्थामा देखेँ । रिस कसलाई उठ्दैन र । तर, मैले भगाउने हिसाबले हानेको थिएँ । उहाँ भाग्नु भयो । मैले मान्छे पनि चिनेन । त्यो भन्दा अगाडी नै मेरो बुढी भागिसकेछ,’ उनले भने,‘खोजतलास गरेँ बुढी भेटाइन । मैले भोलीपल्ट मान्छे मरेको कुरा थाहा पाएँ । पुलिसको मान्छे रहेछ । थाहा नै भएन ।’ दियो पोस्ट मा खबर छ
सुशीलले आफूले आवेशमा आएर २ मुक्का र बाँसको अगुलोले प्रहार गरेको स्विकार गरेका छन् ।
प्रहरीले घटनास्थल दार्खा पुगेरै घटनाको अनुसन्धान गरेको थियो ।
प्रहरीले सइ गुरुङको हत्याको आरोपमा सुशीलकी श्रीमती तारा गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको थियो । घटना भएको एक हप्तापछि हत्या आरोपी सुशील प्रहरीमा आत्मसमर्पण गर्न पुगेका थिए ।



