वीर अस्पतालमा दैनिक दुई हजार बढि विरामी आउने गर्दछन् । मुलुककै जेठो सरकारी अस्पताल भएकोले यहाँ निम्न आर्थिक अवस्था भएका विरामीको चाप बढ्दो छ ।
तर, वीरका केही कर्मचारीहरुले अस्पताललाई दुहुनो गाई बनाउँदा अस्पतालको सेवा दिन प्रतिदिन खस्कदै गएको छ । यो खबर यूनाइटेड पोष्टसाप्ताहिकले छापेको छ ।
सरकारले पनि सेवा र गुणस्तर सुधार्न भनेर हरेक वर्ष वीरलाई दिने अनुदान बढाउँदै लगे पनि वीर झन ओरालो लागेको देखिन्छ । गगन थापा स्वास्थ्य मन्त्री हुँदा मन्त्रालयले अस्पतालका लागि एक अर्ब बजेट दिएपनि वीरका पदाधिकारीले त्यो बजेटलाई ब्यापारीसँगको सेटिङमा नियोजित रुपमै खर्च गरे ।
जसका कारण भर्खरै स्वास्थ्य मन्त्री बनेका गिरिराजमणी पोखरेलले वीरका भ्रष्टहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएका छन् ।
शुक्रबार वीरले १२८ औं स्थापना दिवस मनाईरहँदा प्रधानमन्त्री तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका कुलपति शेरबहादुर देउवा र पूर्व स्वास्थ्य मन्त्री गगन थापाकै अगाडि स्वास्थ्यमन्त्री पोखरेलले वीरका पदाधिकारी नै परिवर्तन गर्नुपर्ने भन्दै चेतावनी दिएका हुन् ।
मन्त्री पोखरेलले वीरको भ्रष्टाचार नरोकिए सबै पदाधिकारीलाई कारबाही गर्ने धम्की दिएको मन्त्रालय स्रोतले बतायो । वीरमा भएको अनियमितताका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान अयोग, सतर्कता केन्द्र, प्रधानमन्त्रीको कार्यालय र स्वास्थ्य मन्त्रालयमा उजुरी परिसकेको अवस्थामा स्वास्थ्य मन्त्री पोखरेलले छानविन गर्ने जनाएका हुन् ।
जबकी पोखरेल स्वास्थ्यमन्त्री बनेसँगै मेडिकल माफिया भनेर चिनिने विशाल पण्डीत अस्पतालहरुमा अब आफ्नो राज चल्ने भन्दै हिड्न थालेका छन् ।
उनले आफ्ना सहकर्मीहरुलाई स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, वीर अस्पताल, वीपी प्रतिष्ठान, पाटन अस्पताल जस्ता ठूला स्वास्थ्य प्रतिष्ठानमा मेरो राज चल्छ भन्दै शक्ति प्रदर्शन गर्न थालेका छन् ।
पोखरेललाई हातमा लिएर पण्डीतले यसअघि पनि स्वास्थ्य क्षेत्रका ६० प्रतिशत भन्दा बढि काम हत्याउँदै आएका थिए । पोखरेलको कम्पनी हस्पिटेकले अन्य कम्पनीको भन्दा महंगो दररेटमा टेण्डर हालेपनि टेण्डर उनैलाई पर्दै आएको छ ।
वीरका उपकुलपति डा. गणेश गुरुङ, सेवा आयोग सचिव लक्ष्मण अर्याल, नवराज धितात, हिमालय तिवारी, विष्णु फुँयाललगायतको समूहसँग मिलेर पण्डितले वीरमा आफ्नो अधिपत्य जमाउँदै आएका छन् । यहि समूहसँगको सेटिङमा पण्डितले आफू अनुकूल हुनेगरी शुरुमै स्पेशिफिकेसन बनाएर टेण्डर पार्दै आएको वीर अस्पताल स्रोतको दावी छ ।
उपकुलपति गुरुङको समूहले टेन्डरमा मात्र नभई कर्मचारी भर्ना, सेवा आयोगको परीक्षा, अस्पतालभित्रको पार्टेसन, पीसीएल, बीएन, एमडी एमएस प्रवेश परीक्षा, अस्पतालको औषधि, प्याथोलोजी, एक्सरेलगायतमा समेत अनियमितता गरेको उजुरीमा उल्लेख छ ।
उनीहरुले अख्तियार र लोक सेवा आयोगको निर्देशन विपरीत वीर अस्पताल र ट्रमा सेन्टरमा कार्यालय सहयोगीदेखि शाखा अधिकृतसम्म कर्मचारी भर्ना गरी लाखौं रुपैयाँ उठाएको पनि उजुरीमा उल्लेख छ ।
सेवा आयोगमार्फत् कर्मचारी भर्ना गर्दा कमिसन लिएका परीक्षार्थीलाई मात्र पास गराउन गुरुङ, अर्याल, धितात, तिवारी र फुँयालले रातारात उत्तरपुस्तिका नै परिवर्तन गरेको वीर अस्पताल स्रोतको दाबी छ ।
उनीहरुले पीसीएल, बीएन, एमडी एमएस प्रवेश परीक्षामा समेत नक्कली परीक्षार्थी राखेर आफू निकटकालाई पास गराएको यसअघि नै खुलिसकेको छ ।
धितालले त यतिसम्म गरेका छन् कि प्रतिष्ठान कर्मचारी युनियनको नेता भएर कर्मचारी नियमावली विपरीत इमरजेन्सी गेट नजिकै पसल राख्दा समेत अस्पताल र मन्त्रालय बेखबर छन् ।



