दार्जीलिङः गाड़ीमानै पाक्यो माछा अनि सब्जी। हिजो मध्य राती अज्ञात व्यक्तिहरुले यहाँको रेलवे स्टेशन नजिक सिलगढीबाट चामल, सब्जी, माछा आदि ल्याएर आइरहेको टाटा सुमो गाड़ीमा आगो लगाएर जलाएपछि गाड़ी पूर्णरूपले जलेर स्वाहा भयो भने यसभित्र रहेका रहेका माछा, सब्जी आदि गाड़ीमानै पाकेको छ। यद्यपि, गाड़ीमा कतिजना यात्री थिए अनि गाड़ी चालकले आफ्नो ज्यान कसरी बँचाए भन्नेबारे अहिलेसम्म केही पत्तो लाग्न सकेको छैन। तरै पनि गाड़ीमा ल्याइएका खाद्य सामग्रीहरु एउटै बाँच्न सकेन। जसमा टमाटर, आलु, प्याज, माछा, चामल साथै अन्य खाद्य सामग्रीहरु सामेल थिए।
यो गाड़ीमा आगो लगाइएको घट्नाको आरोप गोर्खा जनमुक्ति मोर्चामाथि लागे पनि यसलाई गोजमुमोले सरासर खण्डन गरेको छ। पार्टीले भनेको छ, गोर्खाल्यान्डको यस गणतान्त्रिक आन्दोलनलाई बद्नाम गराउनको लागि कतिपय दुष्कर्मीहरुले यसप्रकारको कार्यहरु गरिरहेका छन्, किनभने गोजमुमोले कुनै पनि खाद्य सामग्री ल्याउनमा रोक लगाएको छैन। यसैले यस आन्दोलनलाई बद्नाम गर्नको लागिनै कतिपय मौकावाज दुष्कर्मीहरुले यसप्रकारको काण्डहरु गरिरहेका छन्। यसरीनै हिजो राती लगभग 11 बजीतिर यहाँको जोरबङ्लो थानाअन्तर्गत 14 माइल परिसरमा सिलगढीबाट यात्रीहरु लिएर आइरहेको एउटा गाड़ी तोड़फोड़ गरिएको जानकारी पाइएको छ।
उक्त गाड़ीमा दार्जीलिङका मानिसहरुनै थिए, जो सिलगढीबाट दार्जीलिङ आइरहेका थिए। यद्यपि, उक्त गाड़ी मालिक वा चालकले यस घट्ना विरूद्ध पुलिसमा मामला दर्ता नगरेको पुलिस सूत्रले बताएको छ। यद्यपि, यस घट्नामा कसैलाई पनि चोटपटक नलागेको पनि बताइएको छ। यसैबीच, हिजो रातीनै रिम्बीकमा अवस्थित फरेष्ट बङ्लोलाई पनि आगो लगाएर जलाइएको जानकारी प्राप्त भएको छ।




