नेपालगञ्ज । नेपालगञ्जमा आइतबार बेलुकी गोली चलेको छ । नेपालगञ्ज उपमानगरपालिका–८ त्रिभुवन चोक नजिकै दुई आपराधिक गिरोहबीच विवाद हुँदा गोली चलेको हो । प्रहरीका अनुसार दुई समूहबीच विवाद हुँदा एक पक्षले अर्को पक्षलाई घेरेपछि घेरामा परेको पक्षले हवाई फायर गरेर भागेको हो ।
बाँके प्रहरीका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले उक्त घटनामा दुईवटा आपराधिक गिरोहको संलग्नता रहेको प्रारम्भिक सूचना प्राप्त भएको र केही व्यक्तिहरुको नाम पनि प्रहरीले प्राप्त गरेको जानकारी दिए । नेपालगञ्जकै स्थानीयवासी रहेका उनीहरुको खोजीकार्य तीव्र पारिएको उनले जानकारी दिएका छन् । उनले यस घटनालाई गम्भीर घटनाका रुपमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिए ।
सीमावर्ती शहर नेपालगञ्जमा हातहतियारको अवैध घुसपैठ हुने जोखिम उच्च छ । तिहारको बेला र आसन्न निर्वाचनको सम्मुखमा गोली चलेपछि यसले थप जोखिम र खतरातर्फ संकेत गरेको छ । प्रहरीले सुरक्षा व्यवस्थामा थप संवेदनशीलता देखाउनुपर्ने आवश्यकता देखिएको छ



