एमाले सचिव योगेश भट्टराईले आगामी पुसमा एमालेले बहुमतसहित सरकार बनाउने उदघोष गर्नुभएको छ । भारतमा रहेका अखिल भारत नेपाली स्वतन्त्र बिद्यार्थी युनियनले आज दिल्लीमा आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले प्रचार बिभाग प्रमुख समेत रहनुभएका भट्टराईले मंसिरभित्र हुने प्रदेश र संघीय संसदको निर्वाचनमा स्पष्ट बहुमत ल्याएर एमालेले सरकार बनाउने ठोकुवा गर्नुभएको हो ।
हामी भारतसँगको सम्बन्ध सुमधुर होस, साँच्चीकै रोटीबेटीको होस भन्ने चाहन्छ, तर हाम्रो मामिलामा दिल्लीबाट प्रेष्क्रिप्शन जारी हुन्छ भने किमार्थ मान्य हुदैन

‘आगामी मंसिरमा प्रदेश र केन्द्रीय संसदको चुनाव हुन्छ, त्यो चुनावमा स्पष्ट बहुमत ल्याएर पुसमा एमालेले बहुमतको सरकार बनाउँछ, देशलाई संमृद्धिको बाटोतिर लैजान्छ,’ भट्टराईले भन्नुभयो । उहाँले एमाले नेतृत्वको सरकार गठनपछि मुलकका सवै स्थानीय तहमा एक जना चार्टड एकाउन्टेन्ट राख्ने योजनासमेत सुनाउनु भयो । ‘मंसिर पुसदेखि फेरि सरकारमा जाँदैछ एमाले, अव बहुमतसहित हामी सरकारमा जाँदैछौं । त्यसपछि प्रत्येक स्थानीय तहमा एक जना चार्टड एकाउन्टेन्ट राख्ने निर्णय गर्नेछ । सवैभन्दा कम बजेट भएको स्थानीय तहले पनि १ सय करोड बजेट चलाउँछ, त्यसैले हरेक तहमा चार्टड एकाउन्टेन्ट चाहिन्छ,’ भट्टराईले भन्नुभयो ।
उहाँले नेपाल भारत सम्बन्ध मजबुत हुनुपर्ने आवश्यकतासमेत औल्याउनु भयो । ‘नेपालले भारतसँग नाजायज सम्बन्ध खोजेको होइन, पारस्परिक हित खोजेको हो, एक अर्काको सार्वभौमसत्ताको सम्मान होस भन्ने चाहेको हो, तर नेपालीलाई दुःख दिएर, निहु खोजेर सम्बन्ध सुधार हुन्न,’ भट्टराईले भन्नुभयो, ‘२१ औं शताब्दीको सुपर पावर हाम्रा दुई छिमेकी भारत र चीनले थोरै पनि नकारात्मक धारणा राखे हामीलाई अगाडी बढन गाह्रो छ, थोरै पनि सकारात्मक धारणा राखे हामीलाई धेरै फाइदा हुन्छ ।’ उहाँले नेपाल भारतको सवै आशंका दुर गर्न तत्पर रहेपनि आन्तरिक मामिलामा हस्तक्षेप स्वीकार्न नसक्ने प्रष्ट पार्नुभयो । ‘हामी भारतसँगको सम्बन्ध सुमधुर होस, साँच्चीकै रोटीबेटीको होस भन्ने चाहन्छ, तर हाम्रो मामिलामा दिल्लीबाट प्रेष्क्रिप्शन जारी हुन्छ भने किमार्थ मान्य हुदैन,’ भट्टराईले भन्नुभयो।
एमाले बेइजिङबिरुद्ध दिल्ली, दिल्लीबिरुद्ध बेइजिङ कार्ड खेल्न चाँहदैन, हामी समदुरीको सम्बन्ध राख्न चाहन्छौं । दुवैसँग सम्बन्ध सुमधुर बनाउन चाहन्छौं । नेपालको बाटो नै बन्द गर्नुहुन्छ भने त्यो सम्बन्ध मान्न सकिन्न, मानिन्न
उहाँले एमाले भारतबिरुद्ध चीन र चीनबिरुद्ध भारतलाई प्रयोग गरेर अघि नबढने प्रष्ट पार्नुभयो । ‘एमाले बेइजिङबिरुद्ध दिल्ली, दिल्लीबिरुद्ध बेइजिङ कार्ड खेल्न चाँहदैन, हामी समदुरीको सम्बन्ध राख्न चाहन्छौं । दुवैसँग सम्बन्ध सुमधुर बनाउन चाहन्छौं । नेपालको बाटो नै बन्द गर्नुहुन्छ भने त्यो सम्बन्ध मान्न सकिन्न, मानिन्न,’ सचिव भट्टराईले भन्नुभयो । उहाँले बिगतमा गरेको नाकावन्दीले भारत निकै ठुलो समस्यामा परेको बताउनु भयो । ‘आफ्नै चेलीको घरमा ग्याँसि बन्द गरिदिने, औषधी बन्द गरिदिने ? अनि केहो रोटीबेटीको नाता ? रोटी बेटीको नाता हो भने त्यो सवैभन्दा नजिकको नाता हो ? हामी त्यो नाता कायम होस भन्ने चाहन्छ, तर नाकावन्दी गरेर आफ्नै चेलीलाई समस्या पर्ने नाता रोटीबेटीको हो ?’ उहाँले भन्नुभयो ।
भट्टराईले बिश्वभर छरिएका नेपालीलाई नेपालमा आएर लगानी गर्न आह्वान पनि गर्नुभयो । ‘आउनोस, कति लगानी गर्नुहुन्छ, गर्नाेस, कुनैपनि बिदेसी बैंकको ऋण लिनु पर्दैन, हामी नेपालीको लगानीमै ठुला ठुला परियोजना बनाउन सक्छौं,’ भट्टराईले भन्नुभयो । नेपालीले लगानी गरेमात्रै पनि मुलुक संमृद्ध बनाउन सकिने मार्गचित्र समेत उहाँले सुनाउनु भयो । उहाँले अवको १० बर्षभित्र नेपाल बहुराष्ट्रिय कम्पनीको केन्द्र बन्ने भट्टराईका भनाई थियो ।
‘नयाँ संभावनाबाट अगाडि बढदैछ नेपाल अव । कर्मचारी राजनीतिक क्षेत्रमा देखिएको समस्या पनि हल गर्दै जानेछौं, स्थानीय चुनाव भयो, संसदीय चुनाव हुँदैछ, संबिधान बन्यो, झण्डै ६० ७० बर्षदेखिको बिवाद हामीले संबिधानमार्फत हल गरेका छौं । अव नेपालमा राजनीतिक बिवाद छैन । प्रणालीको बिवाद छैन,’ भट्टराईले भन्नुभयो, ‘अव नेपालमा प्रतिस्पर्धा छ भने नेपाललाई कसरी संमृद्ध र सम्पन्न मुलुक बनाउने भन्ने छ । अवको १० बर्षभित्र नेपालमा आइफोन एप्पल कम्पनीको कारखाना खुल्नेवाला छ ।’



