मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्र बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा कांग्रेस–माओवादी गठबन्धनका कुमार भट्टराई निर्वाचित भएका छन् । मंगलबार सम्पन्न मतगणनाअनुसार ११ सय ३१ मत प्राप्त गर्दै भट्टराई अध्यक्षमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनका हनुमान मित्तलले ७ सय ९६ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार हरि प्रसाईंले १ सय १८ मत प्राप्त गरे। यस्तै, वरिष्ठ उपाध्यक्षमा भट्टराई प्यानलका प्रकाश सिवाकोटी १३ सय ६२ मतसहित विजयी भए। उद्योग उपध्यक्षमा भट्टराई प्यानलकै राजु न्यौपाने (१२३६, वाणिज्य उपाध्यक्षमा मित्तल प्यानलका नारायण चिमरिया (१०४५) जनसम्पर्क महिला उपाध्यक्षमा भट्टराई प्यानलकी पार्वता बिमली (१२६७) विजयी भइन्।
यस्तै, महासचिवमा भट्टराई प्यानलका भेषराज भण्डारी (११३०), उद्योग सचिवमा भट्टराई प्यानलका रवीन्द्र भट्टराई (११६४), वाणिज्य सचिवमा मित्तल प्यानलका प्रकाश घिमिरे (१०१६) र कोषाध्यक्षमा भट्टराई प्यानलका मनोज अग्रवाल (१०९७) विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
यस्तै, सात खुला सदस्य र दुई महिला सदस्यमा पनि अधिकांश भट्टराई प्यानलका सदस्य नै विजयी भएको निर्वाचन समितिले जनाएको छ ।



