
मेचीनगर । धुलावारी उच्च माध्यमिक विद्यालयका विद्यार्थी आइतवार पाँच दिने शैक्षिक भ्रमणमा निस्किएका छन् । उनीहरू ताल नगरी पोखरा, धार्मिक नगरी जनकपुर र बुद्ध नगरी लुम्बिनीको अवलोकनमा गएका हुन् । त्यसो त कञ्चनपुरस्थित महाकाली सहकारी संस्थाको जम्बो टोली भर्खरै झापा र इलामको घुमफिर सकेर फर्किएको छ । पश्चिमेलीले झापा र इलामको चियावारीलाई घुमफिरको मुख्य गन्तब्य बनाएका छन् । दसैँ सकिने वित्तिकै ठूलो सङ्ख्यामा नेपालीहरू घुमघाममा निस्किने चलन सुरु भएको छ केही वर्ष यता । त्यसो त पर्वकै बेला ठूली पाथिभरा, मुक्तिनाथ, खप्तड क्षेत्र लगायतको धार्मिक यात्रामा निस्कनेहरू पनि बढ्दै गएका छन् । धुलावारी क्याम्पसका विद्यार्थी केही दिन अघि मुस्ताङ हेर्न गएका छन् । यताका उता जाने र उतातिरका यता आउने गर्नाले यस अघि त्यति चर्चामा नआएका स्थानीय पर्यटकीय स्थलले समेत भाउ पाउने सङ्केत मिलेको छ । समग्रतामा नेपालीमा घुमफिर संस्कृति फस्टाउँदो छ । यसले आन्तरिक पर्यटनको प्रवर्धनमा ठूलो सघाउ पुग्ने देखिन्छ । जिल्ला वाहिरका चल्तीका पर्यटकीय क्षेत्रमा मात्र नभएर पछिल्लो समय आफ्नै जिल्लाका रमणीय स्थलमा घुमघाममा जाने प्रचलन आशलाग्दो पाराले मौलाएको छ ।
पर्यटन प्रवर्धनबाट विगतदेखि नै छिमेकी जिल्ला इलामले प्रशस्त लाभ उठाएको देखिन्छ । त्यहाँका श्रीअन्तु, कन्याम, माइपोखरी, गजुरमुखी, राँके र सानी पाथिभराले झापाका पाहुनालाई लोभ्याउँदै आएको छ । झापाका सर्वसाधारण मात्र होइन, सरकारी कर्मचारी र युवाहरूको ठूलो सङ्ख्या गर्मीमा चिसो वातावरण खोज्दै कन्याम र हर्कटे पुग्ने गर्छन् । त्यहाँ पुगेर केही घन्टा बिताउँदा उनीहरूले खाना, नास्ता र घुमघाममा निकै खर्च गर्दै आएका छन् । तर पछिल्लो समय घुमघामका लागि झापामै सुन्दर स्थल उपलब्ध भएकाले आन्तरिक पर्यटकहरू जिल्लाभित्रै रमाउने गरेका छन् । सुरुङ्गाको जामुनखाडी सिमसार क्षेत्र आन्तरिक पर्यटक आकर्षण गर्नेमा अग्रपङ्तिमा देखिएको छ ।
वर्षेनी २ लाख पर्यटक भित्र्याउन सफल जामुनखाडी सिमसारमा नौका विहारका लागि पोखरी र डुङ्गा उपलब्ध छन् भने पिकनिक र हाइकिङका लागि जङ्गली परिवेश निकै रमाइलो छ । जामुनखाडीमा वार्षिक करोड बढी रकम आन्तरिक पर्यटकले तिरेको शुल्कबाटै आम्दानी हुने गरेको छ । त्यहाँ दर्शक लोभ्याउन जङ्गली जीव जन्तुको संरक्षण गर्दै मिनी चिडियाखाना सञ्चालन गरिएको छ । माइपश्चिमको दोमुखा, शनिअर्जुनको अर्जुनधारा जलेश्वर धाम, पृथ्वीनगरको किच्चकबध, शिवसताक्षीको सताक्षी मन्दिर र बाहुनडाँगीको कृष्णथुम्कीले पर्यटक लोभ्याइरहेका छन् । धाइजनको बाँसबारी, मेचीनगरको खुट्टेडाँगी र थोप्ले विरान सामुदायिक बनले पोखरी, झोलुङ्गे पुल र मिनी चिडियाखाना स्थापना गरेर पर्यटक भित्र्याउन थालेका छन् । सुरुङ्गाको सुकेडाँगीस्थित धनुषकोटी धाम, कनकाई कोटी होम, चन्द्रगढी सामुदायिक वन र जलथल क्षेत्रमा समेत पर्यटकीय पूर्वाधार निर्माण धमाधम भइरहेको छ ।
धार्मिक उद्देश्यले हजारौँको सङ्ख्यामा ओइरो लाग्ने आन्तरिक पर्यटकलाई मनोरञ्जन पुर्याउने लक्ष्यले सञ्चालनमा ल्याइएको शनिश्चरेको फन पार्क लगायतका नयाँ क्षेत्र पनि पर्यटकका लागि नयाँ गन्तब्य बनेका छन् । विगत लामो समयदेखि वेस्याहार रहेको झापा सदरमुका चन्द्रगढीस्थित महेन्द्र पार्कलाई रङरोगन गरेर आकर्षण तुल्याउन भद्रपुर नगरपालिका र लायन्स क्लव अफ भद्रपुर संस्थागत रुपमै लागिपरेका छन् । त्यहाँको फुलवारी, पानीको फोहोरा र अन्य संरचनालाई मर्मत गरिएका छन् भने गेट टल्काइँदै छ । तर आन्दोलनकारीले अवेशमा भत्काएको पूर्व राजा महेन्द्रको शालिकको स्थानमा अब के राखिन्छ, यकिन हुन सकेको छैन । पार्कभित्रको भुइँमा भने रङ्गीविरङ्गी टायल विच्छ्याइने भएको छ । घुमघाम संस्कृति बढ्नुले पर्यटकीय स्थलमा चहलपहल मात्र बढेको छैन, आम्दानीको स्रोत पनि वृद्धि भएको छ । सामुदायिक बन समिति, जिल्ला विकास समिति, नगरपालिका, गाविस र पर्यटन कार्यालय लगायतका संस्थाहरू पर्यटकीय प्रवर्धनमा जुटेका छन् ।
उनीहरूले पूर्वाधार विकासमा समेत लगानी थप्दै जानु खुशीको कुरा हो । घुमघाम संस्कृति पछिल्लो समय संसारभर मौलाएको छ । कतिपय मुलुकमा सरकारले नै आफ्ना नागरिकलाई घुमघाममा प्रोत्साहित गर्न बजेट उपलब्ध गराउने गरेको छ । नेपालमा समेत ज्येष्ठ नागरिक, विद्यार्थी र कर्मचारीलाई घुमघामका लागि विभिन्न कोषबाट रकम उपलब्ध हुने गरेको छ । स्वास्थ्य र अध्ययनका लागि घुमघाम लाभदायक मानिन्छ । दिमागी रिफ्रेस र शारीरिक स्फुर्तीका लागि भ्रमण उपयुक्त मानिने गरेको छ । विद्याथीहरू छुट्टिको सदुपयोग घुमघामबाटै गर्न थालेका छन् । नेपालीमा फस्टाउँदो यो संस्कृति सबै दृष्टिले राम्रो मानिएको छ ।
झापाको भद्रपुर नगरपालिकाभित्रकै एउटा प्राथमिक विद्यालयमा ९८ प्रतिशतभन्दा बढी विद्यार्थी आदिवासी समुदायका छन् भन्दा पत्याउन गाह्रो होला, तर यो सत्य हो । साविक महेशपुर गाविस–९ स्थित र हाल भद्रपुर नगरपालिका–३ को गार्मेन्ट चोकबाट करिब एक किलोमिटर दक्षिणमा रहेको सरस्वती विद्या मन्दिर प्राविमा ९८ प्रतिशतभन्दा बढी विद्यार्थी आदिवासी राजवंशी र सन्थाल समुदायका छन् । आदिवासी र सन्थाल समुदायकै विद्यार्थीमात्र पढ्ने गरेको यो विद्यालयमा स्थापना भएको २८ वर्ष पुगिसक्दा पनि विद्यालयको भौतिक पूर्वाधार तयार नभएको स्थानीय समुदायले जनाएका छन् । बाल कक्षासहितको ७२ जना अध्ययनरत सो विद्यालयमा राजवंशी समुदायका ३४ जना, सन्थाल समुदायका ३६ जना र दुईजना अन्य समुदायका विद्यार्थी रहेको प्रधानाध्यापक उत्तमराज भट्टराईले जानकारी दिए ।
चारजना शिक्षिकासहित पाँचजना शिक्षकबाट पठनपाठन भइरहेको सो विद्यालयमा शौचालय नभएको, कक्षाकोठा राम्रो नभएको, बिजुली र खानेपानीको समेत असुविधा रहेको पाइएको छ । तीन कट्ठा क्षेत्रफलमा रहेको सो विद्यालयमा छवटा कोठा छन् । शौचालय नभएकै कारण शिक्षिका एवम् छात्रालाई धेरै समस्या हुने गरेको गुनासो शिक्षिकाले गरेका छन् । विद्यायलमा विद्यार्थी बस्ने डेस्क र बेन्चको अभाव छ । खेलकुद सामग्री पर्याप्त छैन ।
जिल्ला शिक्षा कार्यालय भद्रपुरबाट दुई किलोमिटरको दूरीमा रहेको यो विद्यालयको दुरवस्थालाई हेरेर भद्रपुर नगरपालिकाले बिजुली जडान गरिदिएको छ । स्थानीयवासी चिन्तामणि दाहालले आदिवासी राजवंशी र सन्थाल समुदायका मात्र विद्यार्थी अध्ययन गर्ने यस्ता विद्यालयलाई सरकारले सुविधा सम्पन्न बनाउनुपर्ने बताए । यस विद्यालयको पूर्वाधार निर्माणमा ध्यान नपुग्नु जिल्ला शिक्षा कार्यालयको ठूलो भूल भएको उनको भनाइ थियो । भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले विस्तारित भद्रपुर नगरपालिकामा महेशपुर गाविस गाभिएपछि यो विद्यालयको अध्ययन र अनुगमन गर्ने मौका मिलेको र समृद्ध भनिएको झापा जिल्लामा शिक्षण संस्थामाथि यथेष्ट दृष्टि पुग्न नसकेको प्रतिक्रिया दिए ।



