पर्साको सुवर्णपुर गाउँपालिकामा बिहीबार बिहान हात्तीको आक्रमणमा परी एक बालकको मृत्यु भएको छ। पर्साको राष्ट्रिय वनबाट आएको हात्तीको समूहले गरेको आक्रमणमा परी वडा नं. २ इक्षानगर निवासी रामकुमार प्रजाकी ११ वर्षीय छोरा रिजन प्रजाको मृत्यु भएको हो।
बिहान ३ः३० बजेको सयममा वनबाट आएको हात्तीको समूहले प्रजाको घरमा आक्रमण गरी छोरालाई घरभन्दा २५ मिटर वनतर्फ लगी कुल्चलेर मारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
रिजनको शव परीक्षणका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।
वन क्षेत्र नजिकै रहेको पर्साको ठोरी, सुर्वणपुर, विजयबस्ती लगायतका स्थानमा हात्तीको समूहले निरन्तर आक्रण गर्दै आएको र हात्तीको आक्रमणमा परी बर्षेनी दर्जनौँ व्यक्तिले ज्यान गुमाउने गरेको स्थानीयवासीले गुनासो गरेका छन्।
वनबाट आएको हात्तीको समूहले गाउँ प्रवेश गरी घर भत्काउनाका साथै बालीसमेत नष्ट गर्दै आएपनि स्थानीय प्रशासनले हालसम्म कुनै पहल नगरेको स्थानीयवासीको भनाइ रहेको छ। रासस



