पूर्व–पश्चिम राजमार्गअन्तर्गत काकँडभिट्टादेखि पथलैया खण्ड फराकिलो बनाउन भौतिक योजना तथा निर्माण मन्त्रालय वैदेशिक महाशाखाले सर्भे सुरु गरेको छ । विश्व बैंकको सहयोगमा ‘नेपाल भारत क्षेत्रीय ट्रेड एन्ड ट्रान्सपोर्ट आयोजना’मार्फत सडक विस्तार हुन लागको हो ।
मन्त्रालयले दिएको जानकारीअनुसार सर्भेको जिम्मा इन्भारोमेन्ट एन्ड रिसोर्स म्यानेजमेन्ट कन्सलटेन्स प्रालिलाई दिइएको छ । इटहरीदेखि पश्चिम क्षेत्रको सर्भे भइरहेको कन्सल्टेन्सीले जनाएको छ । सडकको बीचबाट दुवैतर्फ २५-२५ मिटर फराकिलो बनाइनेछ । त्यो गर्दा सडक ६ लेनको हुनेछ ।
अहिले इटहरी र पश्चिम क्षेत्रको सर्भे गरिरहेको प्रालिका लेलिन शर्माले जानकारी दिए । तीन टोली बनाएर सर्भे गरिरहेको उनको भनाइ छ । १५ दिनभित्र सर्वे तयार गरी रिपोर्ट मन्त्रालयलाई बुझाइने शर्माले जानकारी दिए । काँकडभिट्टादेखि पथलैयासम्मको सडकको लम्बाइ तीन सय ६६ किमि छ ।
सडक फराकिलो बनाउन वातावरणीय सर्वेक्षणसमेत हुने शर्माले बताए । सडक आसपासका बासिन्दाबाट सडक विस्तारको आवश्यकता र त्यसबाट पर्न सक्ने प्रभावका बारेमा सुझाबसमेत लिने काम कन्स्ल्टेन्सीले गर्नेछ ।
पूर्व–पश्चिम राजमार्गको कुल लम्बाइ एक हजार २७ किलोमिटर छ । यो राजमार्ग २०१९ सालमा बनेको हो । उद्घाटन भने २०२२ सालमा भएको थियो । यो सडक हाल दुई लेनको मात्र छ ।
इटहरीका घर नभत्कने, इनरुवाका भत्कने
इटहरी क्षेत्रमा सर्वेक्षण भइसकेको छ । सडक फराकिलो बनाउँदा इटहरीका कुनै पनि घरलाई असर नगर्ने इन्भाइरोमेन्ट एन्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्टेन्स प्रालिका लेलिन शर्माले जानकारी दिए । तर, इनरुवामा भने धेरै पक्की घरहरू भत्कने शर्माको भनाइ छ ।



