दमक÷दमकमा नीजि अस्पताल तथा क्लिनिकहरुमा डेंगु ज्वरो पत्ता लगाउने कीटको अभाव भएको छ । सिमिति संख्यामा मात्र फार्मेसी र अस्पतालहरुले कीट राखेकाले अहिले अभाव भएको हो । यसभन्दा अगाडि यसरि महामारी नदेखिएकाले कममात्र जाँच्नु पर्ने भएकाले अस्पताल र क्लिनिकहरुमा सिमित संख्यामा रहेका कीटहरु सकिएकाछन् ।
दैनिक रुपमा बिभिन्न अस्पताल र क्लिनिकहरुमा १ सय ५० जनासम्मले डेंगु ज्वरोको जचाउन आउन थालेपछि कीट सकिएको बताइन्छ । दमक स्थित लाइफलाइन अस्पतालले कीट सकिएपछि डेंगुका शंकाश्पद बिरामीहरुलाई सरकारी दमक अस्पताल रेफर गर्न थालेकोछ । दमक अस्पतालमा निशुल्क रुपमा कीट उपलब्ध हुने भएकाले बिरामीलाइ मार नपरोस भनेर कीट परिक्षणका लागि त्यहाँ पठाइन थालेको हो ।
रगत परिक्षण र अन्य उपचार तथा काउन्सिलिङ प्रदान गर्ने काम भने लाइफलाइन अस्पतालले गर्दै आएको फिजिसियन डा. दीपकराज बरालले बताए । डेंगुको त्रासले सामान्य ज्वरो आउदा, रुघा लाग्दा समेत डराएर सर्वसाधरण तथा पढेलेखेका र जान्नेबुझ्ने समेत अस्पताल आउने गरेको बरालले जनाए । धेरै आत्तिनु र अत्तालिनु नपर्ने बरालको भनाइ रहेको छ ।
दमक अस्पतालमा भने कीटको अभाव नरहेको भएपनि पर्याप्तमात्रामा नभएकाले प्लेटलेटको मात्रा कमी भएका बिरामीहरुलाई चिकित्सको सिफारिसमा मात्र कीटको प्रयोग गरे डेंगु ज्वरो परिक्षण गरिदैछ । अस्पतालका स्वास्थ्यकर्मी नगेन्द्र भट्टराइका अनुसार अस्पतालमा भीड बढेको छ भने डेंगु ज्वरोका बिरामीहरु फेला पर्ने क्रम पनि बढ्नेक्रम कायमै रहेको छ ।
सोमबार अबेरसम्ममा नयाँ ३६ जनामा डेंगु ज्वरो फेला परेको छ । यो संगै डेंगुको संक्रमण हुनेको संख्या कम्तिमा ९६ पुगेको छ । आइतवार ६० जनामा डेंगु भेटिएको पुष्टि भएको थियो । इलाका प्रशासन कार्यालय दमकले पनि अस्पतालहरु गएर बिरामीको याकिन विवरण लिन शुरु गरेको छ ।
इलाका प्रशासन कार्यालय दमकका प्रमुख बासुप्रसाद कोइरालाका अनुसार सोमबार अपरान्हसम्ममा दमकका अस्पतालहरुमा ८२ जना डेंगु ज्वरोका बिरामी रहेको पुष्टि भएको छ । नीजि क्लिनिकहरुको बिवरण यसमा समाबेश छैन । धेरै बिरामीहरु घरमा नै आराम गरेर बसेको र केहि बिरामीहरुमात्र अस्पताल भर्ना भएको बताईएको छ ।
प्लेटलेट कमी हुदै गएका र आफूलाई असहज भएको बताउने बिरामीहरुलाई चिकित्सकहरुले धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान र राजधानीका अन्य अस्पतालमा रेफर गर्दै आएको छ । दमकमा प्लेटलेट कमी भएका बिरामीहरुलाई प्लेटलेट दिन नसकिने भएकाले उहाँ पठाईएको हो ।



