
काठमाडौं, साउन २९ – लगातारको वर्षापछि आएको बाढी पहिराेका कारण मुलुकभरिका हजारौँ नागरिक प्रभावित भएका छन्। उद्दार र राहत वितरण कार्यमा सरकार, स्थानीय तहका प्रतिनिधि, रेडक्रस तथा सामाजिक संघसंस्थाका प्रतिनिधि जुटेका छन्।
त्यस्तै निजी क्षेत्रबाट पनि खाद्यान्न, लत्ताकपडा लगायतका राहत सामग्री जुटाउने कार्य भइरहेको छ। कला क्षेत्रबाट पनि सहयाेग संकलन गर्ने कार्य प्रारम्भ भएकाे छ।
त्यसै क्रममा चर्चित हास्य कलाकार दीपकराज गिरीले १ लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन्। उनले फेसबुक स्टाटसमार्फत सहयोगको घोषणा गरेका हुन्। उनले लेखेका छन्, ‘यो पीडालाई आफ्नै पीडा सम्झौँ, व्यक्तिगत रुपमा एक लाख रूपैयाँ सहयोगको घोषणा गर्छु।’

त्यसैगरी, बाढी प्रभावितका लागि निर्देशक दीपाश्री निरौलाले व्यक्तिगत ५१ हजार रुपैयाँ सहयोग गर्ने भएकी छिन्। मोरङ समाजमार्फत बाढी प्रभावितका लागि दीपाश्रीले रकम हस्तान्तरण गर्न लागेकी हुन्।
विराटनगर घर भएकी दीपाले विराटनगर विमानस्थल डुब्दा आँखा रसाएको बताइन्। ’छक्का पञ्जा-२ कि निर्देशक निरौलाले भनिन्, ‘यो सहयोग मेरो व्यक्तिगत हो, यो सानो सहयोग सहयोगका सुरुवात हो। सबैबाट सानो-सानो सहयोग भयो भने ठूलो बन्नेछ।’
त्यस्तै अर्की नायिका प्रियंका कार्कीले पनि बाढी पीडित तथा डुबान परेका जनताका लागि ५१ हजार रूपैयाँ सहयोग गर्ने घोषणा फेसबुकमार्फत गरेकी छिन्।

त्यस्तै अर्का कलाकार तथा निर्माता निर्मल शर्माले पनि दश हजार रूपैयाँ सहायता रकम घाेषणा गर्दै बाढी प्रभावितको सहयोगमा जुटेका छन्। बाढी प्रभावितको सहयोगमा जुट्न शर्माले सामाजिक सञ्जालमार्फत सबैलाई आग्रह गरेका छन्। प्राकृतिक प्रकोपले पुर्याएको क्षतिप्रति सम्पूर्ण कलाकर्मीले दुःख व्यक्त गर्दै सहयोगको अपील गरिरहेका छन्।



