केही दिनदेखिको अविरल वर्षाका कारण मध्य तथा पूर्वी तराईमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
नेपाल विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रमुख विष्णुप्रसाद श्रेष्ठले तीन दिनदेखिको अविरल वर्षाका कारण सिरहाको लहानदेखि पूर्व झापासम्म विद्युत् प्रसारण अवरुद्ध भएको जानकारी दिए ।
उनले अविरल वर्षाका कारण प्रसारण लाइन, सबस्टेसन तथा वितरण प्रणालीलगायतका संरचनामा ठूलो क्षति भएकाले विद्युत् वितरणमा समस्या आएको हुँदा पूर्वाञ्चलका सम्पूर्ण जिल्लामा विद्युत् आपूर्ति हुन नसकेको जानकारी दिए ।
पानीको सतह कम नभएसम्म डुबेका सबस्टेसन तथा वितरण प्रणालीको परीक्षण सम्भव हुन नसक्ने बताउँदै उहाँले सम्पूर्ण परीक्षणपछि मात्र विद्युत् वितरण पुनः सुचारु हुन सक्ने स्पष्ट पारे ।
उनका अनुसार दमक–गोधाक खण्डको १३२ केभी लाइनअन्तर्गत चुलाचुलीमा रहेको टावर नं. १७ ढलेको, काबेली कोरिडोर अन्तर्गतको ट्रान्समिसन लाइन ढलेको, हेटौँडा सिमेन्ट कारखानानजिक रहेको ६६ केभी टावर पल्टिन लागेकाले सो फिडर बन्द गरिएको, दुहबी सबस्टेसन, दमक सबस्टेसन र अनारमनी सबस्टेसन जलमग्न भएकाले ती स्टेसनहरू बन्द भएका छन् ।
त्यसैगरी चन्द्रपुर–पथलैया, ढल्केबर–चन्द्रपुर, बालाजु–त्रिशूली शुक्रबारदेखि नै सञ्चालनमा आउन नसकेको बताउँदै उनले नयाँ संरचनामा रक्सौल–परवानीपुर खण्डको भलुहीमाटावरनमा बाढीले क्षति पुगेको जानकारी दिए ।



