बिष्ष्णुप्रसाद पोखरेल
दमक/झापाका बिभिन्न खोलाहरुमा आएको बाढीका कारण १५ हजार हेक्टरभन्दा बढि धानखेत डुबानमा परेको बताईएको छ । किसानका खेतीयोग्य जमिनहरु समेत कटान शुरु गरेपछि कटान रोक्न माग गर्दै किसानहरुले जनप्रतिनिधिलाइ गुहार माग्न थालेकाछन् । बर्षा रोकिएसंगै खोलामा पानीको सतह घट्दा खेतीयोग्य जमिनमा कटान तिब्र बनेको जनाईएको छ ।
जिल्ला कृषि बिकास कार्यालय झापाका प्रमुख प्रकाश डाँगिका अनुसार प्रारम्भिक चरणको तथ्याङ्कमा १५ हजार हेक्टरभन्दा बढि धान खेतीमा खोलो बगेको छ । खोलासंगै बगेर आएको बालुवाले धान पुरेपछि किसानहरु चिन्तित बनेकाछन् । डाँगिका अनुसार बिद्यूतको र मोवाइल तथा सञ्चारमा समस्या भएका कारण बिस्तृत विवरण अझै पनि लिन सकिएको छैन ।
कार्यालयका कर्मचारीहरुसंग समेत सम्पर्क हुन नसकेकाले बिस्तृत विवरण तयार पार्नका लागि केहि समय लाग्ने उहाँको भनाइ रहेको छ । झापामा ८७ हजार ५ सय हेक्टरमा धान खेती भएको छ । किसानले सिचाइका लागि खेतमा गाडेका पानी तान्ने मोटरहरु समेत बगाएकाछन् भने कतिपय काम नलाग्ने गरी बिगारेको जनाईएको छ । अहिले सबैको ध्यान मानवीय र अन्य भौतिक क्षतितर्फ गएकाले कटानको बिषयमा खासै ध्यान पुग्न नसकेको पाइएको छ ।
कमल गाँउपालिकामा कमल र रतुवा खोलाले सबैभन्दा ठूलो असर खेतीयोग्य जमिनमा नै पारेको पाईएको गाँउपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले जनाउनु भयो । उहाँका अनुसार गाँउपालिकाका बिभिन्न स्थानहरुमा ५ सय बिगाहभन्दा बढि खेतीयोग्य जमिन बालुवामा पुरेको छ ।
अहिले बिस्तृत रुपमा लगत संकलन गर्ने काम भइरहेको उहाँले जानकारी दिनु भयो । किसानले ५ सय बिगाहमा लगाएको धान खेती काम नलाग्ने अवस्थामा पाएको उहाँको भनाइ छ ।
झापा क्षेत्र नं. ६ का साँसद दीपक कार्कीका अनुसार अहिले गौरादह नगरपालिका र गौरीगञ्ज गाँउपालिकाका अधिकाँश किसानहरु बाढिबाट पीडित भएकाछन् । हजारौ बिगाह धान खेतमाथि खोला बगिरहेको छ । बिभिन्न ठाँउमा बाँध भत्केर खोलो खेतीयोग्य जमिनमा पसेको र तिब्र कटान भएको भन्दै किसान तथा स्थानीय अगुवाहरुले नियण्त्रणको प्रयास गरिदिन आग्रह गरिरहेको कार्कीले बताउनु भयो ।
झापामा कन्काइ, रतुवा, मावा, बिरिङ, मेची, निन्दा लगायतका खोलाहरुले धेरै खेतीयोग्य जमिन कटान गरिरहेकाछन् । साविक महाभारा, बैगुन्धुरा, पाँचगाँछी लगायतको क्षेत्रमा खेतीयोग्य जमिन कटान भएको र काम नलाग्ने गरी धानखेती बगाएको खबरहरु आइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख कुन्दन देबले बताउनु भयो । उहाँका अनुसार अहिले क्षतिको लगत संकलन गर्ने काम भइरहेको छ ।



