चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपाल र चीनबीच भएका पछिल्ला सम्झौताले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको प्रतिक्रिया दिएका छन् । उपप्रधानमन्त्री वाङले नेपाली नेताहरुसँगको भेटका क्रममा सो प्रतिक्रिया दिएका हुन् ।
सोमबार साँझ तीन दिने भ्रमणका क्रममा काठमाण्डौ आएको सो प्रतिनिधिमण्डलले मंगलबार दिउँसो पूरै समय उद्घाटन कार्यक्रम र नेपालका राजनीतिक दलका नेताहरुसँगको भेटवार्तामा बिताएको थियो । मंगलबार बिहान सुरुमै राष्ट्रपति सी जिनपिङको सन्देश लिएर उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई भेटेको चिनियाँ प्रतिनिधि मण्डलले विभिन्न सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।
त्यसलगत्तै उनीहरुले एमाले र माओवादी नेताहरुसँग भेटवार्ता गरेका थिए । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीसँगको भेटमा पछिल्लो समयमा दुई मुलुकबीच भएका सहमति र सम्झौता कार्यान्वयनका विषयमा गम्भीर छलफल भएको थियो ।
अघिल्लो वर्ष सरकारको नेतृत्व गरेका अध्यक्ष ओलीसँग चिनियाँ प्रतिनिधिमण्डलले त्यसबेला चीनसँग भएका दिर्घकालीन र अल्पकालीन सहमति र सम्झौताको कार्यान्वयन गर्ने विषयमा गम्भीर छलफल गरेको बताइएको छ । उक्त छलफलमा दुई मुलुकबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउँदै बन्द रहेको तातोपानी नाका तत्काल खुलाउनेबारे समेत सकारात्मक कुराकानी भएको बताइएको छ ।
एक वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीले चीनको राजकीय भ्रमण गर्दा निकै महत्वपूर्ण सम्झौताहरु गरेका थिए । भारतसँग टक्कर परिरहेको बेला भएको उक्त समझ्दारीलाई निकै महत्वका साथ हेरिएको थियो । चीनसँग त्यसबेला भएका समझ्दारीपछि भारतसँगको एकाधिकार व्यापारिक नीतिलाई समेत तोडिएको विश्लेण गर्ने गरिन्छ ।
त्यसैले चीनले त्यसपछि एमाले र अध्यक्ष केपी ओलीलाई थप सकारात्मक दृष्टिकोणबाट हेर्ने गरेको छ । मंगलबारको भेटवार्तामा पनि चिनियाँ प्रतिनिधि मण्डलसँग सोही दृष्टिकोणबाट छलफल भएको श्रोतको दाबी छ ।
भेटका क्रममा विद्युतीय रेलमार्ग नेपाली जनताको चाहना रहेको ओलीले बताएका थिए । चिनियाँ उपप्रधानमन्त्री वाङले ओबीओआर अभियानलाई अगाडि बढाउन यस क्षेत्रकै अग्रसरता जरुरी भएको राष्ट्रपतिको सीको सन्देश एमाले प्रतिनिधि मण्डललाई सुनाएका थिए । यसको कार्यान्वयनमा नेपाल सकारात्मक ढंगले अगाडि बढ्ने चिनियाँ आशा रहेको पनि उनले बताएका थिए ।
त्यस्तै,उपप्रधानमन्त्री वाङ नेतृत्वको टोलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतका नेताहरुको टोलीसँग पनि भेटवार्ता गरेको थियो । भेटका क्रममा उपप्रधानमन्त्री वाङले वान बेल्ट वान रोड ओबिओआर लगायत पछिल्लो समय नेपाल र चीनबीच भएका सम्झौताले नेपाल–चीनबीचको सम्बन्धलाई थप उचाई दिएको बताएका थिए ।
ओबिआर सम्झौता तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा भएको थियो । भेटका क्रममा दाहालले नेपालको पूर्वाधार विकास, जलविद्युत, पर्यटनलगायत क्षेत्रमा लगानी गर्न चिनियाँ प्रतिनिधि मण्डललाई आग्रह गरेका थिए ।
वान बेल्ट वान रोड (ओबीओआर) परियोजनामा भएको हस्ताक्षरलाई महत्वपूर्ण बताउँदै दाहालले चीन र भारत दुवै छिमेकीसँग सन्तुलित र समदुरीको सम्बन्ध राख्न चाहेको उल्लेख गरे ।
चिनियाँ उपप्रधानमन्त्री वाङले राष्ट्रपति सीको सन्देश बोकेर आफू नेपाल आएको बताए । नेपालको पूर्वाधार विकास, जलविद्युत, पर्यटनलगायत क्षेत्रमा चीन लगानी गर्न इच्छुक रहेको जानकारी पनि दिएका थिए ।
बुधबार चिनियाँ प्रतिनिधि मण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउावसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । छलफल डट कम बाट



