चितवन राष्ट्रिय निकुञ्जबाट बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पुगेका दुर्लभ एकसिँगे गैँंडालाई पुन बासस्थानमा ल्याउने प्रक्रिया शुरु गरिएको छ । हालसम्म पहिचान भएकामध्ये एउटा गैंडा मृत भेटिएको छ भने एउटा भारतीय बस्तीमा र चारवटा नेपाल र भारतविच पर्ने वन क्षेत्रमा भेटिएका छन । यद्यपी कतिवटा बगाएर लगेको भन्ने यकिन तथ्याङक नभएपनि भेटिएका मध्ये ६ वटाको पहिचान भएको हो ।
निकुञ्जको टोलीसहित दुई दिनदेखि भारतीय क्षेत्रमा गैंँडाको खोजी गर्दै आउनु भएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार बाल्मिकी नगरबाट ४२ किलोमिटर दक्षिणपूर्व बगाहा भन्ने भारतीय गाउँमा दुई वर्षको गैँंडा देखिएको छ । नदीले बगाएर लगेपछि त्यहाँ उत्रिएको सो गैंँडालाई ल्याउने प्रयास थालिएको उहाँले बताउनुभयो । यस सम्बन्धमा भारतीय अधिकारीसँग कुराकानी भइसकेको भन्दै उहाँले नारायणगढ–बुटवल सडक खण्डको दाउन्नेमा बाटो सुचारु भएमा सो गैँंडा आजै ल्याइने जानकारी दिनुभयो ।
सौराहाबाट प्राविधिक टोली त्यसतर्फ गईसकेको छ । बस्तीको बीचमा रहेकाले तत्काल उद्धार गर्न आवश्यक भएको अर्यालले बताउनुभयो । भारतीय बाल्मिकी टाईगर रिजर्बका डिएफओ र सरकारी अधिकारीसँग समन्वय भइसकेकाले बाटो सुचारु भएलगत्तै काम अघि बढ्ने उहाँले बताउनुभयो । बाढीले अर्को एक गैँंडा भारतकै बाल्मिकी नगरमा पु¥याएको छ । त्यसैगरी नवलपरासीको नर्सही भन्ने ठाउँमा एउटा, त्रिवेणी मध्यवर्ती सामुदायिक वनमा एउटा र बाल्मिकी आश्रममा एउटा गैंँडा भेटिएका छन् । यी गैँंडा जंगलमा रहेकाले पानीको मात्रा घटेपछि उद्धार गरी निकुञ्जमा ल्याइने छ । ती गैंँडाको सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बाढीकै कारण डुमरिया पोष्टमा एक रतुवा र एक चित्तल, अमलटारी क्षेत्रमा दुई चित्तल, ध्रुवमा एक चित्तल, निकुञ्जभित्रको सेरीमा एक चित्तल मृत अवस्थामा भेटिएका छन् । राप्ती र नारायणीको बाढीले अरु धेरै जनावर बगाएको र मरेको अनुमान गरिएको छ । यद्यपि पहिलो चरणमा दुर्लभ वन्यजन्तुको मात्र खोजीलाई तीव्रता दिइएको छ ।



