नवीन ढुंगाना । काठमाडाैं। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्क अनुसार नेपालबाट रोजगारीको खोजीमा दैनिक एक हजारदेखि पन्ध्र सय नेपाली युवाहरु विदेशिने गरेका छन । काम गर्न सक्ने उमेर समूहका युवाहरु यो देशमा कुनै सम्भावना नै नभएको तर्क गर्दै बिदेसिएका छन् ।
यो संख्या दिनानुदिन बढ्दो क्रममा छ । युवाले नै केही गर्न नसकेको र सम्भावना नदेखेको यो देशमा गत आर्थिक वर्ष कृषि जन्य उत्पादनमा भविष्य देखेर विदेशी लगानीका १०५ वटा उद्योग नेपाल भित्रिएका छन् । पशु पालन, तरकारी खेती, माछापालन, एकीकृत कृषि कार्यक्रम, चिया बगान र शीत भण्डार लगायतको क्षेत्रमा लगानी भित्रिएका हुन् ।
ती उद्योगमा २ अर्ब २६ करोड ५९ लाख २० हजार नेपाली रुपैया लगानी भएको छ । लगानी गर्ने मुलुकहरुको सूचीमा चीन पहिलो नम्बरमा छ । चीनले ८१ वटा साना उद्योग र १६ वटा मझौला उद्योगमा लगानी गरेको छ ।
कृषि जन्य उत्पादनको ९७ वटा उद्योगमार्फत चीनले नेपालमा २ अर्ब १९ करोड ६ लाख ८० हजार नेपाली रुपैयाँ लगानी गरेको छ भने ३२ सय १८ जनालाई रोजगारी दिएको छ ।
नेपालको कृषिजन्य उत्पादनमा लगानी गर्ने अर्को मुलुक हो जर्मनी । जर्मनीले नेपालमा ८ वटा कृषि जन्य उद्योगमा सात करोड ५२ लाख ४० हजार रुपैयाँ लगानी गरेको छ । दुईवटा मझौला उद्योग र ६ वटा साना उद्योगमा लगानी रहेको जर्मनीले ४११ जनालाई रोजगारी दिएको छ । नेपालमा काम गर्ने अवसर र वातावरण छैन भन्नेका लागि नेपालको कृषि क्षेत्रमा बढेको विदेशी लगानी गतिलो पाठ हुन सक्छ ।नेपाल जर्नलबाट



