नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई बाढीले डुब्दा आफ्नो पार्टी पीडामा रहेको तर, सत्तारुढ कांग्रेस र माओवादीले पीडामाथि राजनीति गर्न थालेको वताउनु भएको छ । पार्टीको सम्पर्क समन्वय कमिटीले बाढी पीडितका लागि संकलन गरेको राहत हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै शरीरको एक अंगमा चोट लाग्दा सबै अंग दुख्ने उदाहरण पेश गर्नुभयो ।
‘नेपाली जहाँ होउन्, जहाँसुकै बसुन् एउटालाई चोट लाग्दा अर्कोलाई दुख्छ,’ उहाँले भन्नुभयोे, ‘खुट्टामा चोट लाग्दा आँखाबाट आँशु आउँछ । आँखाबाट आँसु आउन आँखामै चोट लाग्नु पर्दैन ।’ एमालेले बाढी पीडितको पीडामा मल्हम लगाउन काम गरेको तर, सत्तारुढ दलहरुले राज्यकोष खर्च गरेर पीडितमाथि राजनीति गरिरहेको वताउनु भयो ।
‘अहिले प्रदेश नम्बर–२ सबै भन्दा बढी डुवानमा परेको छ,’ केही मन्त्री र नेताहरु राज्यको ढुकुटीमा राजनीति गरिहेका छन । राज्यकोष खर्चेर पोका लग्यो सेल्फी खिचेर पोष्ट गर्यो’ ओलीले भन्नुभयो, ‘एमालेले चाहिँ राजनीतिक प्रचार होइन दुखेका घाउमा मल्हम लगाइरहेको छ ।’
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा हुने ओलीले बताउनुभयो । ‘निर्वाचन आयोगका पदाधिकारीसँग तीन दलका शीर्ष नेताहरुको कुराकानी भयो, उहाँहरुले पनि दुबै निर्वाचन एकै चरणमा गर्न सकिने बताउनु भएको छ ।’
ओलीले तीन दिन भित्रमा निर्वाचन मिति घोषणा हुनुपर्ने धारणा राख्नुभयो । ‘एक, दुई वा तीन दिन भित्र स्थानीय र प्रदेशको निर्वाचन मिति घोषणा हुन्छ,’ ओलीले भन्नुुभयो, ‘हामी देशभरी नै एक चरणमा निर्वाचन गर्नुपर्छ भन्नेमा छौँ । सकेसम्म मंसिरको पहिलो हप्ता एकै चरणमा नभए हिमाल र पहाडका ३१ वटा जिल्लामा पहिलो चरणमा निर्वाचन हुन्छ ।’
ओलीले संविधान संशोधन प्रस्ताव गलत नियतले ल्याएको भन्दै त्यो कुनै पनि हालतमा पास नहुने पनि दावी गर्नुभयो । ‘पहिलो प्रस्ताव गलत नियतले आएको छ, दोस्रो समय सापेक्ष छैन,’ ओलीले भन्नुभयो, ‘तेस्रो हामीसँग सल्लाह भएको छैन, चौथो निर्णायर्थ आएको होइन, पाचौँ यो राष्ट्रको हितमा छैन । त्यसैले पास हुँदैन ।’
ओलीले प्रदेश नम्बर–२ को निर्वाचन असोज दुईमै हुने पनि बताउनुभयो । ‘चुनाव पहिला नै हुनुपर्ने हो,’ ओलीले भन्नुभयोे, ‘अहिले पनि विभिन्न बाहनामा चुनाव नगर्ने षडयन्त्र भैरहेको छ । चुनाव असोज–२ मै हुन्छ ।’ चक्रपथ बाट



