केही दिनअघि राप्रपाबाट छुट्टिएर नयाँ दल दर्ता गर्ने प्रक्रियामा रहेका पशुपति शमसेर राणा सर्वोच्च अदालत गुहार्न पुगेका छन् । राणा यसअघि बुझाएको ४० प्रतिशत केन्द्रीय सदस्यहरुको नामावलीकै आधारमा छुट्टै दल दर्ता गर्ने आदेशको माग गर्दै सर्वोच्च पुगेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टि फुटाएर राप्रपा (प्रजातान्त्रिक) दर्ता गर्न राणाले साउन २२ गते निर्वाचन आयोगमा ६४ सांसदको हस्ताक्षर सहित निवेदन दिएका थिए।
तर आयोगले ती हस्ताक्षर सनाखत गर्नुपर्ने भन्दै असार ४ गतेसम्मको अवधि दिएको थियो। आयोगको यहि निर्णय विरुद्ध राणा सर्वोच्च अदालत पुगेका हुन् ।
राणाले आफ्नो दललाई मान्यता दिन निर्वाचन आयोगलाई आदेश गरिपाउँ भन्दै शुक्रबार रिट दायर गरेका छन् ।
उक्त रिटमा राणाले राप्रपा अध्यक्ष कमल थापाले आफ्ना पक्षका केन्द्रीय सदस्यलाई समेत अपहरण शैलीमा लुकाएको जिकिर गरिएको जनाइएको छ ।



