उर्लाबारी । उर्लाबारी नगरपालिकाले वडा नं. ८ बगर टोलका बाढीपीडितहरूलाई राहत वितरण गरेको छ । उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोको संयोजकत्वमा गठित ‘मेयर विपद व्यवस्थापन कोष’ मार्फत पीडितहरूलाई राहत वितरण गरिएको हो ।
बाढीबाट विस्तापित बगर टोलका १४ परिवारलाई उनीहरूले आश्रय लिएकै स्थानमा पुगेर शुक्रबार साँझ राहत वितरण गरिएको थियो । पीडितहरूलाई नगरपालिकाका प्रमुख फागोले प्रतिपरिवार २४ केजी चामल, ५ केजी दाल, ५ केजी च्युरा, ३ केजी भुजा, २ लिटर तेल, २ पोका नुन, २ केजी न्यूटला, २ प्याकेट भुजिया, २ प्याकेट दुध पाउडर र १ प्याकेट मयमबत्ती वितरण गरे।
गत साताको वर्षाका कारण अति विपन्न सन्थाल समूदायको बसोबास रहेको बगर टोलका १४ परिवार पूर्णरूपमा विस्तापित बनेका थिए । उनीहरूलाई दुर्गापुरीस्थित अरनिको माविको कक्षा कोठामा राखिएको छ ।
शुक्रबार साँझ नगरप्रमुख फागोले राहत वितरण गर्नुका साथै उनीहरूको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी लिनुभएको थियो । उनले ज्वरोबाट थलिएका मिना किस्कुका नाबालक छोरा आशिष किस्कु र लक्ष्मी हेमरमलाई तत्काल उपचारको प्रबन्धसमेत मिलाएका छ्न।
राहत वितरणमा नगरपालिकाका कार्यकारी अधिकृत अम्बिकाप्रसाद चौलागाई, वडा नं. ८ का अध्यक्ष कूलबहादुर कार्की, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापालगायतको उपस्थिति रहेको थियो ।



