गोपाल काफ्ले
गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रममा झापाबाट ७९ हजार ९१३ जना मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका लेखा प्रमुख देवीचरण भण्डारीका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा र बाँकी अवधि स्थानीय तहमा नै गएर मतदाता नामावली संकलन तथा अद्यावधिक गर्दा सो संख्याका मतदाता थपिएका हुन् ।
झापाका १४ वटा स्थानीय तह र भद्रपुर नगरपालिकाको हकमा जिल्ला निर्वाचन कार्यालयबाट साउन १५ गतेदेखि भदौ ३ सम्म मतदाता नामावली संकलन तथा अद्यावधिक गरिएको थियो । लेखा प्रमुख भण्डारीका अनुसार नयाँ मतदाताहरुले आगामी निर्वाचनको प्रयोजनको निम्ति अत्यन्तै उत्साहका साथ तर कतिपय अवस्थामा कष्ट सहेर पनि फोटो खिचाएका छन् ।
भण्डारीकाअनुसार जिल्ला निर्वाचन कार्यालय भद्रपुरमा आएर १३ हजार २२६ जनाले, मेचीनगर नगरपालिकामा खटिएको टोलीमार्फत् ७ हजार २०४ जनाले, कनकाई नगरपालिकामा खटिएको टोलीमार्फत् ५ हजार ९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । यसैगरी, बिर्तामोड नगरपालिकामा ८ हजार ११९ जना, गौरादह नगरपालिकामा ४ हजार ५०३ जना, अर्जुनधारा नगरपालिकामा ७ हजार ३१३ जना, दमक नगरपालिकामा ६ हजार ६९३ जना र शिवसताक्षी नगरपालिकाका ५ हजार ४७१ जनाले नामाङ्कन दर्ता गराएका छन् ।
यस्तै, कचनकवल गाउँपालिकाबाट १ हजार ९२६ जना, बाह्रदशी गाउँपालिकामा २ हजार ५५६ जना, झापा गाउँपालिकामा १ हजार ८६० जना, बुद्धशान्ति गाउँपालिकामा ५ हजार ४२३ जनाको नाम थपिएको छ । फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाबाट १ हजार ९९६ जना, कमल गाउँपालिकाबाट ६ हजार १८ जना र हल्दिबारी गाउँपालिकामा २ हजार ५९६ जना सहभागी भएका छन् ।
गत स्थानीय निर्वाचनमा झापामा ५ लाख १० हजार २१६ जना मतदाता थिए । अहिले थपिएका मध्ये २५ जना हाराहारी चाहिँ आउट डिस्ट्रिक रजिष्टर्ड (ओडिआर) अर्थात् अन्य जिल्लाका मतदाता भएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी गोपालप्रसाद आचार्यले साझामञ्चलाई बताए । तर यो संख्या नै आगामी निर्वाचनका लागि अन्तिम मतदाता संख्या हुन नसक्ने भन्दै आचार्यले झापाका मानिसहरु देशका अन्य जिल्लाहरुमा बसोबास गरेका कारण त्यहाँ पनि ओडिआर हुनेभएकाले अझै संख्या थपिने निश्चित छ ।
यो चरणको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रममा जिल्लाका सबै मतदाताहरु समेटिन सकेनन् भन्ने जनगुनासो बारे राखिएको जिज्ञासामा उनले आफूलाई पनि यस्तो संकेत मिलेको बताए । भने, ‘लगातार केही दिनसम्म मतदाता नामावली संकलन केन्द्रमा पुगेर पनि भिडभाडका कारण पालो नपाएका मतदाता हुने योग्यता पुगेका केही नागरिकहरु फ्रस्टेड भएर फर्केको आफूले सूचना पाएको हो । मुलतः बिर्तामोड, दमक, अर्जुनधारा र मेचीनगर नगरपालिकामा यस्तो भएको हुनसक्छ, जहाँ अन्तिम दिनको रात १० बजेसम्म पनि नामावली संकलनमा हाम्रो टोली सेवारत थियो । यस्तो प्रेसर भएकै स्थानीय तहबाट ५०० हाराहारी नागरिकले नाम दर्ता गर्न नपाएको अनुमान आफूहरुले पनि गरेको’ आचार्यले सुनाए ।



