सरकारले व्यवस्थापिका संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फेल भएको छ ।
व्यवस्थापिका संसद्मा हाल कायम सदस्य संख्याको दुई तिहाइले पारित गर्नुपर्ने भए पनि प्रस्तावको पक्षमा दुई तिहाई पुग्न सकेन । सोमबार बेलुका भएको मतविभाजनमा प्रस्तावको पक्षमा ३४७ र विपक्षमा २०६ मत प्राप्त भएको थियो ।
प्रस्ताव पारित हुन कम्तिमा पनि ३९५ मत आवश्यक पथ्र्यो । नेकपा एमाले, राप्रपा, नेमकिपा, राजमो लगायतका राजनीतिक दल प्रस्तावको विपक्षमा उभिएका थिए ।
प्रस्तावको पक्षमा रहेका कांग्रेस, माओवादी केन्द्र, राजपा लगायत साना दल पक्षमा थिए । उक्त संख्या तत्काल कायम रहेको ५९२ को दुई तिहाई मत नभएकाले अस्वीकृत भएको घोषणा सभामुख ओनसरी घर्तीले गरेकी थिइन् ।



