पर्सामा एक वृद्धालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ । जगरनाथपुर गाउँपालिका–३ बीजबनिया गाउँको खलुचई टोलका ५५ वर्षिय इम्बानी खातुनलाई बोक्सीको आरोपमा कुटपीट गरिएको हो । कुटपीटबाट खातुन गम्भिर घाईते भएकी छन् । उनको नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भईरहेको छ ।

खातुनलाई छमेकीहरुले बोक्सीको आरोप लगाउँदै निघार्त कुटपिट गरेको स्थानीय बासिन्दाले जनाएका छन् । घटनामा छिमेकी जोखु मियाको परिवारका सदस्यहरुको संलग्नता रहेको आरोप लागेको छ । जोखुको एक वर्षको नातिलाई ज्वरो आएपछि इम्बानीले नै बोक्सीमन्त्र गरेर बिरामी बनाइदिएको आरोप उनीहरुले लगाएका थिए ।
जोखु, उनका छोरा नूर, अली हसन तथा बुहारी नूर कलीमा र रोबिनाले सोमाबार दिउँसो इम्बानीकै घरमै आएर गालीगलौज गर्दै कुटपिट गरेको पिडित परिवारको गुनासो छ ।
इम्बानीका पति अममद गद्धीका अनुसार, इम्बानीलाई उपचारका लागि सेढवा स्वास्थ्य चौकीमा लगिएको थियो । अवस्था गम्भिर देखेपछि त्यहाँका स्वास्थ्यकर्मीले वीरगञ्जका लागि रिफर गरिदिएका थिए । राति नै एम्बुलेन्समा राखेर नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा ल्याइएको गद्धीले बताए । बोक्सीको आरोपमा इम्बानीलाई कुटपिट गर्ने जोखु र उनका परिवारका सदस्यहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परेको छ । फाेटाे ः हुमन राइट वाच/ नया पत्रिका बाट



