नयाँ दिल्ली : २०७२ सालको प्रजातन्त्र दिवसका दिन प्रधानमन्त्री केपी शर्मा ओली भारतको ६ दिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली आए। त्यस क्रममा चार दिन उनी राष्ट्रपति प्रणव मुखर्जीको अतिथिका रुपमा राष्ट्रपति भवनमा रहे।
प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका अभिव्यक्तिहरु हेर्दा उनले यसलाई आफ्नो भ्रमणको ‘विशेष उपलब्धि’का रुपमा लिएको देखिन्थ्यो।
हुन पनि भुटानी राजा जिग्मे खेसर नामग्याल वाङचुक र उनकी रानीपछि पहिलो पटक प्रम ओली राष्ट्रपति भवनको अतिथि बनेका थिए।
ओली राष्ट्रपति भवनमा बसेको ६ महिनामै दोस्रो नेपाली प्रधानमन्त्रीको बास त्यहाँ भयो – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत वर्षको भदौ ३० गते। प्रचण्डको बास भएको एक वर्ष पुग्दानपुग्दै आजको रात त्यहाँ तेस्रो प्रधानमन्त्री शेरबहादुर देउवाले रात बिताउँदै छन्। फरक के हुनेछ भने यस पटक नेपाली प्रधानमन्त्रीसँगै भारतीय राष्ट्रपति पनि फेरिएका छन्। तर भारतमा प्रधानमन्त्री भने उही छन्- नरेन्द्र मोदी।
विदेशी बस्दैनन्
भारतको गणतन्त्र दिवसमा सहभागी हुन आएका तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफू बस्न दिल्लीको एउटा टप होटल मौर्य सेराटन रोजेका थिए।
२० औँ शताब्दीको सुरुमा बेलायती आर्किटेक्ट एडविन लुटएन्सले बनाएको भारतीय राष्ट्रपतिको ३४० कोठे आवासमा बस्न नचाहनेहरुको लिस्ट ठूलै छ। सन् २००० मा बिल क्लिन्टन र २००६ मा जर्ज डब्लु बुस पनि मौर्य सेराटन मै बसेका थिए।
ओबामाभन्दा अघिल्लो वर्ष गणतन्त्र दिवसको प्रमुख अतिथि बनेका जापानी प्रधानमन्त्री शिन्जो आबे भने ताज प्यालेस होटलमा बसेका थिए।
सन् १९९८ मा फ्रेन्च राष्ट्रपति ज्याक सिराक पनि होटलमै बसेका थिए।
खासमा दुई दशकसम्म विदेशी पाहुनाहरुका लागि बनाइएको राष्ट्रपति भवनको भिभिआइपी कोठाहरुमा ताला लागेको थियो। प्रणव मुखर्जी राष्ट्रपति भएपछि उनकै विशेष पहलमा यो गेस्ट विङलाई पुनर्निमार्ण थालियो।
राष्ट्रपति भवनमा रहेका भण्डारबाट सामानहरु कार्पेट, पेन्टिङ र पुराना राष्ट्रपतिलाई दिइएका उपहारहरु निकालियो, धुलो पुछियो र सजाइयो।
अतिथि भवनलाई भारतको इतिहास झल्काउने गरी सजाउनुको एउटा कारण थियो- विदेशी अतिथिहरु बाहिर होइन राष्ट्रपति भवनमै रहून्।
१९ वर्षपछि खुलेको राष्ट्रपति भवनको यही गेस्ट रुममा पहिलो पाहुना भुटानी राजा भएका थिए। त्यसअघि यहाँ बस्ने विदेशी पाहुना सन् १९८६ मा सोभियत राष्ट्रपति मिखाइल गोर्भाचोभ भएको राष्ट्रपति सचिवालयमा रेकर्ड छ।
कस्तो छ राष्ट्रपति भवनको गेस्ट रुम?
भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी ओली र धर्मपत्नी राधिका शाक्य, उनका सुरक्षाकर्मी र उनीसँगै आएका उप्रधानमन्त्री र मन्त्रीहरु यहाँ बसेका थिए। पोहोर पनि प्रधानमन्त्री प्रचण्डसहित भारत सरकारका अतिथिहरुलाई राष्ट्रपति भवनमा राखिएको थियो। यस पटक पनि प्रधानमन्त्री देउवसहित केही अतिथिलाई यतैको बास मिलाइएको छ।
राष्ट्रपति भवनको गेस्ट विङमा भिभिआइपी र भिआइपी सुइटहरु छन् जसमा प्रधानमन्त्री र मन्त्रीहरु बस्नेछन्। त्यसैगरी यहाँ डिलक्स रुम र एडिसीहरु बस्ने कोठा र स्टायन्डर्ड रुम पनि छन्।
यहाँका १४ वटा कोठाको नाम नदी र हिमालबाट राखिएको छ- ब्रह्मपुत्र र काभेरी। त्यस्तै विन्ध्या र शिवालिक।
रानी वा महिला राष्ट्रपति र प्रधानमन्त्री आए भने उनीहरुलाई नालन्दा नामको कोठामा राखिन्छ भने पुरुष आए भने द्वारकामा। यी कोठाहरुको नाम पनि तत्कालीन भारतीय राष्ट्रपति मुखर्जी आफैले छानेका हुन्।



