नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा संविधानको जथाभावी टिप्पणी गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
उपचारका लागि शुक्रबार थाइल्याण्ड प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “भारत भ्रमणमा प्रधानमन्त्रीले गरेको काम लज्जास्पद छ । देशको स्वाभिमानको वास्ता नगरेर संविधानको जथाभावी टिप्पणी गर्नु अशोभनीय हो । प्रसंगविना नै बोल्नु गलत हो । नेपालको संसद्ले गर्ने कुरा हो भारतले गर्ने होइन । भारतमा संविधान संशोधन गर्न सकिनँ भनेर क्षमायाचना गर्नु लज्जाजनक विषय हो ।”
प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त पत्रकार सम्मेलनका क्रममा आगामी निर्वाचनपछि संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाउने बताएका थिए ।
अध्यक्ष ओलीले सरकारले अहिले लुट मच्चाउने काम गरिरहेको बताए ।
“सरकारले लुटपाट मच्चाउँदैछ । यसको दृष्टान्त स्काउटको केन्द्रीय निर्वाचित समिति भंग गर्नु पनि हो । लैनचौरमा रहेको २२ रोपनी जग्गामा सरकार र कांग्रेसका मान्छेले व्यापार गर्न खोजेका छन् । एमालेले यसमा चेतावनी दिन चाहन्छ । हामी सडकमा आउन नपरोस् ।”
उनले अदालतको जनविश्वास गुम्दै गएकोप्रति चिन्ता लागेको बताए ।
“राप्रपाका केही सांसद्ले नयाँ पार्टी खोल्न खोजे पनि निर्वाचन आयोगलाई दल दर्ता गर्नू भनेर अदालतले आदेश दिनु चिन्ताको विषय हो,” उनले भने, “यसमा राप्रपाको चिन्ता होइन । न्यायप्रति जनताको विश्वास कम होला भन्ने चिन्ता छ ।”
उनले मनमोहन एमालेले खोलेको कलेज नभएको स्पष्ट पारे । “मनमोहन एमालेले खोलेको कलेज होइन, यसमा एमालेको सरोकार पनि होइन, तर गरिबले उपचार गराउने र पढ्ने कलेज हो । त्यो बन्दा हुँदा गरिब जनताले पढ्न र उपचार गर्न पाउँदैनन् ।”



