नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा आँच पुगेको टिपप्णी गरेको छ ।
नियमित स्वास्थ्य परीक्षणका लागि आज बैंकक प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले संविधान संशोधनलाई लिएर देउवा भारतीय समकक्षीसामू ‘गिडगिडाएको’ आरोप लगाए ।
‘प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा नेपालको संविधान संशोधन प्रक्रियालगायतका विषयमा दिएको अभिव्यक्तिले नेपालको स्वाभिमानमा आँच पु¥याएको छ ।’, उनले ‘संसदले गरेको फैसलालाई धज्जी उडाउनु भएको छ । गिडगिडाएर क्षमायाचनाको भाषामा भन्नु भएको छ, प्रभु मैले कोसिस गरेको थिएँ तर सकिँन ।’
ओलीले बिहीबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले तत्काल संविधान संशोधन हुन नसके पनि संविधानको स्वीकार्यता बढाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरेको कुरा आपत्तिजनक भएको बताए ।
उनले बाढी पहिरो र डुबानपीडितको राहत, उद्धार र पुनःस्थापनाको कामलाई अझै प्रभावकारी बनाउन सरकारको पुनः ध्यानाकर्षण गराउँदै पीडितलाई राहत दिने काममा पार्टीले सरकारलाई सक्दो सहयोग गरिरहेको पनि स्मरण गराए ।
एमालेले बाढीपहिरो र डुबानपीडितलाई राहत दिन पार्टीका सांसदहरुको एक महिनाको तलबबापत जम्मा भएको करिब रु एक करोड रकम सरकारलाई हस्तान्तरण गरिसकेको जानकारीसमेत अध्यक्ष ओलीले दिए ।
अध्यक्ष ओली स्वास्थ्य परीक्षण गरी यही भदौ १४ गते स्वदेश फर्केन्ने छन् । उनका साथमा धर्मपत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश बज्राचार्य गएका छन् ।




