डिकेश लामा, भदौ १०, २०७४ बेलडाँगी/भूटानी शरणार्थीहरुले आफ्नो गाँस काटेर झापा गाऊँ पालिकाका वडा नं. ७ का ७३ घर बाढी पीडित परिवारलाई आज चामल वितरण गरेका छन् । शरणार्थीहरुले आफूहरुलाई संस्थाले खान दिएको चामल घर घरबाट मुठी मुठी संकलन गरेर १ हजार ८ सय ७० केजी चामाल पीडित परिवारलाई वितरण गरेका हुन् ।
शिविरबाट संकलित चामाल झापा गाऊँ पालिकाका अध्यक्ष नेत्र प्रसाद उप्रेती र वडा सदस्य ईश्वरी दाहाल, संचारकर्मी डिकेश लामा, गोपाल गड्तौला लगायत अन्य जिम्मेवार पदाधिकारीहरुको उपस्थितिमा पीडितहरुलाई वितरण गरिएको टोलीमा संलग्न शिविर व्यवस्थापन समितिका सल्लाहकार युवराज राईले बताउनु भयो ।
वितरण कार्य अगाडि शिविर व्यवस्थापन समिति पथरी शनिश्चरेका सचीव चम्पासिंह राई, वेलडाँगीका सचीव टिकाराम रसाईलीले पीडितहरुको पीडा प्रति सहानुभूति समेत प्रकट गरेका छन् । मदरगाछ बजार क्षेत्रमा जम्मा भएका पीडितहरुलाई चामल वितरणमा शिविर व्यवस्थापन समितिका अगुवा, स्थानीय जनप्रतिनिधि, रेडक्रस सोसाइटीका सामाजिक कार्यकर्ता, विश्व लुथरन फेडरेशनका केही कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।



