काठमाडौं, १२ भदौ – प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका विषयमा भारतसँग कुनैपनि सम्झौता नगरेको स्पष्ट पारेका छन् ।
आफ्नो पाँच दिने भारत भ्रमणको उपलब्धिको बारेमा व्यवस्थापिका संसदलाई जानकारी गराउँदै उनले संविधान संशोधनका विषयमा कुनैपनि सम्झौता नगरेको र हुन पनि नसक्ने बताए ।
राजकीय भारत भ्रमण सकेर आइतवार स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले सोमवार संसदलाई सम्बोधन गरेका हुन् । पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छिमेकीलाई जानकारी गराउने विषय सामान्य भएकोले अनावश्यक टिकाटिप्पणी नगर्न समेत अनुरोध गरे ।
‘संविधान संशोधन र स्वीकार्यताको विस्तार हाम्रौ राष्ट्रिय एजेण्डा हो,’ उनले संसदलाई भने, ‘देशका राष्ट्रिय योजनाको विषयमा अन्तराष्ट्रिय जगतलाई जानकारी गराउनु कुनै नयाँ विषय होइन् ।’
देउवाले मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा संविधान संशोधनको विषय निकालेका थिए । उनको सो अभिव्यक्तिप्रति नेपाली सञ्चार माध्यममा विरोध भएको थियो ।
प्रधानमन्त्रीले अाफ्नो भारत भ्रमणले दुर्इ पक्षीय हित, सहयाेगमा फाइदा पुगेको दाबी गरे ।



